
बाजुरा: नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नसर्ने रोग तथा पाठेघरको मुखको स्क्रिनिङ शिविर सञ्चालन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहीवार महासंघले सो शिविर आयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौलेले केन्द्रको सर्कलर अनुसार जिल्लामा उपलब्ध पत्रकारहरुको स्वास्थ्य चेकजाँचका लागि शिविरको आयोजना गरिएको बताए । उनले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बाजुरासँगको सहकार्यमा जिल्ला अस्पतालमा सो शिविर सञ्चालन गरिएको बताए ।
उक्त शिविरमा जिल्ला सदरमुकाम मार्तडीमा उपलब्ध पत्रकारहरुको नसर्ने रोग तथा पाठेघरको मुखको स्क्रिनिङ चेकजाँच गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेमबहादुर रौलेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादव रहेका थिए । कार्यक्रममा बोल्दै डाक्टर यादवले मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगहरुको समयमै चेकजाँच गर्न आवश्यक रहेकोले शिविर पनि महत्वपूर्ण भएको बताए ।
त्यस्तै कार्यक्रममा जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरी, प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्या, प्रेस युनियनका उपाध्यक्ष जयबहादुर रावत, प्रेस सेन्टरकी सचिव साेधा नेपाली लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।
पत्रकार महासंघ बाजुराका सदस्य धनकृष्ण विकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहसचिव राजेन्द्र विकले गरेका हुन् ।
प्रकाशित मिति: १९ बैशाख २०८२, बिहीबार