
सुशिल राेकाय: बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ३ रजाली स्थित चोयाकोट माध्यमिक विद्यालयले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको छ । मंगलवार विद्यालयले एक सूचना जारी गर्दै आज अर्थात मंगलवारबाट नियमित विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण सुरु गरेको जनाएको हो ।
विद्यालय व्यवस्थापन समिति, निजी शिक्षक तथा शिक्षक अभिभावक संघको संयुक्त साझेदारीमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण सुरु गरिएको विध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए ।
उनले नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐन जारीको माग सहितको आन्दोलनको समर्थन जनाउँदै बिध्यार्थीको समस्या र अभिभावककको चाहना बमोजिम भर्ना सम्बन्धी समस्यालाई ख्याल गरी सो कार्य सुरु गरिएको बताए ।
हालसम्म शिक्षक कर्मचारीहरुको सडक आन्दोलनले भर्ना अभियान सुरु भएको करिब एक महिना बित्न लाग्दा पनि बाजुरा सहित देशभरका सामुदायिक विद्यालयहरु ठप्प छन् । सामुदायिक विद्यालयहरु बन्द रहेको अवस्थामा जिल्लाका निजी विद्यालयहरुले भने पठनपाठन समेत सुचारु गरी सकेका छन् ।
प्रकाशित मिति: १८ बैशाख २०८२, बुधबार