
बाजुरा: शैक्षिक सत्र सुरु हुनु अगावै बाजुरामा पाठ्य पुस्तक पुगेका छन् । यहाँका सामुदायिक विद्यालयका लागि तल्लो क्षेत्रका पाँच पालिका र माथिल्लो क्षेत्रका चार पालिकाका विद्यालयका लागि पहिलो चरणमा पाठ्यपुस्तक पुगेको करुणा पुस्तक पसलका संचालक नृपबहादुर खातीले बताएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु भएर ६ महिना वितिसक्दा पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन हुँदै आएका यहाँका विद्यालयमा गत वर्षदेखि नै पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुनु अगावै पुग्न थालेको हो ।
यहाँका दुइ सय ३७ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुगेको हो । विद्यालयले माग अनुसार पाठ्यपुस्तक ल्याएको र सोही अनुसार माग गरेका विद्यालयले पाठ्यपुस्तक पठाएको संचालक खातीको भनाई रहेको छ । जिल्लाको पुर्वी उत्तरी भेगका एक नगरपालिका र चार तीन गाउँपालिकाका सामुदायिक विद्यालयका लागि कोल्टीमा रहेका पुस्तक पसलहरुले किताव खरिद गरेर ल्याएको र तल्लो क्षेत्रका तीन नगरपालिका र दुई गाउँपालिकाका सामुदायिक विद्यालयका लागि पुस्तक पुगेका हुन् ।
सदरमुकामको बडीमालिका सहित बुढीगंगा,त्रिवेणी नगरपालिका,गौमुल र खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक विद्यालयका लागि करुणा जनरल पुस्तक पसलले हरेक वर्ष पुस्तक ढुवानी गर्दै विद्यालयसम्म पुर्याउने गरेको छ । पहिलो चरणमै पाठ्यपुस्तक सबै सामुदायिक विद्यालयलाई पुग्ने गरी ल्याएको खातीको भनाई रहेको छ । विद्यालयलाई चैत २० गतेबाट पुस्तकहरु वितरण कार्य थालेको खाती बताउँछन् ।
विद्यालयले विद्यार्थीको अनुपात संख्याका आधारमा माग गरेकाले सोही अनुसार पुस्तक जिल्लामा पुर्याइएको छ । आवश्यक परेमा थप पुस्तक ल्याउने खातीले भने ।
मालिका नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायका अनुसार विद्यालयले मगाएको पाठ्यपुस्तक आइपुगेको बताएका छन् । उनले विद्यालयमा धेरै संख्यामा विद्यार्थी हुने भएकाले हालको विद्यार्थी अनुपातलाई ध्यान दिदै सोही अनुसार विद्यालयका लागि पाठ्यपुस्तक खरिदका लागि माग गरिएको बताए ।
जिल्लाको माथिल्लो क्षेत्रका लागि नरेश शाही र रारा पुस्तक पसलका संचालक संजय रोकाया ढुवानी सेवाको अनुमती पाएका छन् ।
तल्लो क्षेत्रका लागि करुणा जनरल पुस्तक पसल मार्तडी,टेक थापा बाह्रविसमा डम्बर सिंहको पुस्तक पसलले पुस्तक खरिद तथा ढुवानीको अनुमती पाएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।
जिल्लाका ९ वटै पालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने गरेको भएपनि शैक्षिक गुणस्तरमा भने खासै सुधार भएको छैन । हरेक वर्ष पालिकास्तरिय कक्षा ५ र ८ को परिक्षा र एसइइ परिक्षामा जिल्लाको नतिजा भने सन्तोषजनक नभएको जानकारहरुले बताएका छन् ।
प्रकाशित मिति: २८ चैत्र २०८१, बिहीबार