२४ बैशाख २०८३, बिहीबार

बाजुराका ७ हजारबढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै


बाजुरा जिल्लाका ७ हजार ८ सय ९४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।

आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियान अन्तर्गत बाजुराका ९ वटा पालिकामा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ  ।

शनिवार  जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै स्वास्थ्य कार्यालय बाजुराले  जिल्लाभर कक्षा ६ का १ हजार ६ सय ३८, कक्षा ७ देखि १० सम्मका ६ हजार २ सय २२ र विद्यालय नजाने १० बर्ष उमेरका ५ जना तथा ११ देखि १४ बर्षसम्मका २९ जना किशोरीहरुलाई खोप लगाइने जानकारी गराएको हो ।

जिल्लाका ९ वटै स्थानीय तहका १ सय १८ विद्यालय तथा ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने भएको छ भने खोप अभियानलाई सफल पार्न २ सय १० स्वास्थ्यकर्मी र ४ सय १८ स्वयमसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

खोप अभियान त्रिवेणी, बडीमालिका, गौमुल, बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक र जगन्नाथमा माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ भने खप्तड छेडेदहमा माघ २२ देखि २६ गतेसम्म र हिमालीमा माघ २७ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।

खोप अभियानलाई सफल पार्न  जिल्लाका ९ वटै स्थानीय तहसँग समन्वयात्मक कार्यक्रम गरी स्थानीय स्वयंसेवकलाई तालिम दिइ सकिएको छ ।

सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।

यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छभने स्तन क्यान्सर दोस्रोमा पर्छ ।

बाजुरामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले बताएका छन् । त्यस्तै शनिवार स्वास्थ्य कार्यालय बाजुराको आयोजना गरिएको छलफल कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या लगायतले अभियान सफल बनाउन आह्वान गरेका छन् ।


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives