२३ पुष २०८१, मंगलवार

तत्काल सुनुवाई नभए प्रशासनमै धर्ना दिने पिडीतको चेतावनी


बाजुरा: बाजुरामा विभिन्न समयमा क्षेती भएका बाढि पहिरो पीडितहरुले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन सकेका छन् । बर्षौ पहिले मनसुनजन्य विपदबाट घरबार विहिन भएका पिडितहरुले राज्यको मौनता र सरकारको वेवस्थाका कारण अहिलेसम्म क्षतिपूर्ति पाउन नसकेका हुन् ।

२०७७ साल साउन २५ गते बुढीगंगा नदीमा आएको बाढीले जिल्लाको बडीमालिका नगरपालिकाका बाढी पीडितहरुले पनि अहिलेसम्म क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । साउन महिनाको अबिरल बर्षासँगै आएको बाढीले नगरपालिकाको वडा नम्बर १,२,४,६, ८ र ९ का ३७ परिवार घरबार विहिन हुँदा पनि अझै क्षतिपूर्ति पाउन नसकेको स्थानिय कृष्न कार्कीले बताएका छन् । बाढी पीडितहरुले पटक पटक क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई अनुरोध गर्दा समेत अहिलेसम्म कुनै सुनुवाई नभएको भन्दै फेरी सोमवार जिल्ला प्रशासन कार्यालय घेरेका छन् ।

२०७७ साउनमा बाढीले आफूहरु विस्थापित हुँदा त्यतिखेरका तत्कालीन गृहमन्त्री रामबहादुर थापा सहितको टोलीले अनुगमन गर्दा पनि हालसम्म पहिलो किस्ताको पनि पूरा रकम नआएको भन्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई भेटेर तत्काल पहल गरिदिन अनुरोध गरेका छन् ।

बाढीबाट विस्थापित भएको ४ बर्ष बितिसक्दा पनि राज्यले संरचना निर्माणका लागि रकम नदिएको र आफूहरु घरबार र जग्गा विहिन हुँदा समेत राज्य निरही बनेको उनीहरुको आरोप छ ।

बाढीबाट पीडित डम्मर महतले संघबाट नआएपनि १५ प्रतिशत स्थानीय तह र ३० प्रतिशत प्रदेश सरकारको रकम आइसक्दा पनि प्रशासनले क्षतिपूर्ति दिन आनाकानी गरि पिडीतहरु झन पिडीत बनाएको आरोप लगाएका छन । महतले त्यतिखेर संरचना बनाउ भनेर ५ लाखको सम्झौता गरायो तर अहिले रकम निकासा नगर्दा आफूहरु पालमै बास बसिरहेको भन्दै पाँच दिनभित्र क्षतिपूर्ति नपाए प्रशासनमै आएर बास बस्ने चेतावनी दिए । महत बडीमालिका २ का वडा अध्यक्ष समेत हुन् ।

त्यस्तै अन्य बाढी पीडितहरुले विपद् व्यवस्थापन समिति कोषमा जम्मा रहेको रकम तत्काल आफूहरुले पाउनुपर्ने भन्दै कुनै सुनुवाई नभएर प्रशासनमै तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् । पीडितहरुका लागि ५ लाखको सम्झौता गरि संरचना निर्माणको काम सुरु गराएर अहिले आफूहरुलाई ऋणमा डुबाएर समस्यामा पारेको उनीहरुको गुनासो छ ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मनसुनजन्य विपद्बाट पीडितहरुका लागि स्थानीय तह र प्रदेश सरकारबाट रकम निकासा भएपनि संघबाट अहिलेसम्म रकम नआउँदा समस्या भएको बताए । प्रजिअ पाध्याले संघ सरकारसँग पटकपटक आफूले क्षतिपूर्तिको रकम निकासाका लागि पहल गरिरहेको भएपनि कुनै सुनुवाई नभएको बताए । उनले भने आफुले सक्दो प्रयास गरेको भए पनि सुनुवाई नहुदा बाजुराका राजनितिक दलहरुले यसको अगुवाइ भयो भने सुनुवाई हुन सक्ने बताए । त्यस्तै तीनवटै सरकारबाट रकम आएपछि एकमुष्ट क्षतिपूर्ति दिने भनेर अहिलेसम्म रोकिएको भन्दै माघ १५ गतेसम्म संघबाट रकम नआए जम्मा रहेको रकम पिडितहरुलाई दिइने पाध्याले बताए ।

२०७७ साउन २५ गते राति अबिरल बर्षसंगै आएका बाढी पहिरोले उक्त ४ वडाका ३७ परिवारको घर जग्गा जमिन बगाएपछि अहिलेसम्म कतैबाट क्षेतिपुर्ति नपाएको उनिहरुले गुनासो गरेका छन् । बाढी पहिरोले घरवार बिहिन बनाएको पाच बर्ष पुग्न लाग्दा पनि अहिलेसम्म टिन तथा त्रिपाल हालेर बसिरहेका बाढी पहिरो पिडित गोपाल महतले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक तपाईहरुको रकम आउँछ भन्दै आस्वाशन दिदै आएको भएपनि पछि विभिन्न कारण देखाउँदै फिर्ता पठाउने गरेको उनिहरुले आरोप लगाएका छन् । संघ, प्रदेश र नगरपालिकाले रकम जिल्लाको दैविक प्रकोप कोषमा पठाइसकेको भएपनि प्रशासनले भने आफ्नो क्षेतिपुर्तिको रकम दिन व्यवस्ता गरिरहेको आरोप उनिहरुले लगाएका छन ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार