बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ ले मार्तडी बजारमा वडा कार्यालयको एरियाभित्र जथाभावी रुपमा सडकमा सवारी साधानहरु पार्किङ्ग नगरिदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
वडा कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै वडा नम्वर ८ अन्तरगत हिलटप होटल देखि डिआर मष्ट, पाल्त बसपार्क, वन कार्यालय, लोकतान्त्रिक चोक, खुलामंच सम्मको मार्तडी बजार क्षेत्रमा पर्ने मुल सडकको दायाँ बाँया अव्यवस्थित रुपमा सवारी साधान पार्कि पार्किङ्ग नगरिदिन यातायात व्यवसायीलाई आग्रह गरेको हो ।
मार्तडी बजारको मुल सडकमा जथाभावी गाडी पार्किङ्ग गर्ने, ढुंगा, गिट्टी, बालुवा र इटा जस्ता सामाग्रीहरु जम्मा गरेर राख्ने प्रवृति बढ्दै गएकोले बजार क्षेत्रमा मानिसहरुको आवागमनमा प्रत्येक्ष बाधा पुग्ने र सवारी दुर्घटनाको जोखिम समेत हुने भएकोले २४ घण्टाभित्र सडको दायाँ बाँयाबाट जथाभावि पार्किङ्ग गरिएका सवारी साधान र निर्माण सामाग्रीहरु हटाउन बजारबासी र व्यवसायीलाई सूचना मार्फत जानकारी गराइएको वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् ।
नगरपालिकाको स्वच्छता, सुन्दरता र सरसफाईलाई ध्यानमा राखि बजारमा व्यवसाय गर्ने सम्पूर्ण होटल, पसल व्यवसायी तथा सरकारी तथा गैरसरकारी कार्यालयहरुले अनिवार्य रुपमा घर तथा कार्यालय अगाडी डस्वीन राखेर फोहरमैला जम्मा गर्ने काममा सहयोग गर्न समेत वडा अध्यक्ष थापाले आग्रह गरेका छन् ।
सूचना जारी भएको मिती अनुसार २४ घण्टाभित्र सडक एरियामा जथाभावी पार्किङ्ग गरिएका सवारी साधान र निर्माण सामाग्रीहरु नहटाए प्रचलित कानुन अनुसार कारवाही समेत गरिने वडा कार्यालयले चेतावनी दिएको छ ।
प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार