७ पुष २०८१, आईतवार

विद्युत उपभोग गरी आर्थिक आम्दानी बढाऔं : रक्षा सचिव दंगाल


बाजुरा : रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले विद्युत उज्यालो बाल्न मात्र प्रयोग नगरी आर्थिक आम्दानी बढाउनका लागि पनि प्रयोग गर्न आग्रह गरेका छन् ।

बिहीबार गौमुल गाउँपालिका–१ मा रहेको अन्द्राडी लघु जलविद्युत आयोजना उपभोक्ता समितिको निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् । विकट गाउँमा बहुउपयोगी विद्युत उत्पादन गरिएकोले यसको सदुपयोग गरी स्थानीयले आम्दानी बढाउने ठाउँमा प्रयोग हुनुपर्नेमा जोड दिएका छन् ।

विकटमा नेपाल सरकारले बनाउन नसकेको संरचना निर्माण गरेको प्रति काँदुरी एग्रीकल्चर एड एसोशियसनलाई धन्यवाद दिदैं अधिकतम विद्युत खपत हुनुपर्ने उल्लेख गरेका छन् । सरकारको सबै श्रोत नपुग्ने ठाउँमा विद्युत लगायत अन्य संरचना निर्माण गरिएकोले यसको दिगो व्यवस्थापनका लागि स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् ।

निरीक्षणमा आएको टोलीलाई स्वागत गर्दै गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले सहयोगी निकायलाई धन्यवाद दिएका छन् । स्थानीय सरकारको तागतले सबै काम गर्न असहज भएको बेला काँदुरी एग्रीकल्चर एड एसोशियसनले ठुलो जनताका लागि न्याय गरेको बताएका छन् ।

यसैबीच अन्द्राडी लघु जलविद्युत आयोजना उपभोक्ता समितिको निरीक्षणसंगै वडा नम्बर १ र २ जोड्ने दुईवटा झोलुङ्गे पुलको समेत उद्घाटन गरिएको छ । १ र २ नम्बर जोड्ने दोगाडे बुढीगंगा पुल र नाउलीगाड झोलुङ्गे पुलको उद्घाटन गरिएको वडा अध्यक्ष देव बहादुर रोकायाले बताएका छन् । दोगाडे बुढीगंगा झोलुङ्गे पुल १ करोड १७ लाख र नाउलीगाड झोलुङ्गे पुल ७० लाख बराबरको लागत र स्थानीयको श्रमदानमा निमार्ण गरिएका हुन् ।

निरीक्षणमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, सहसचिव ज्ञान प्रसाद ढकाल, काँदुरी एग्रीकल्चर एड एसोशियसन संस्थाका कमाण्डर कर्णेल डेनरेक्स, कर्णेल एन्ड्रियु मिल्ज र प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङ सहितले निरीक्षण गरेका छन् ।

सिम्रिक एयरको हेलिकप्टर मार्फत आएको टोलीले अन्द्राडी र मल्लोदुगुन पुगेर संयुक्त रुपमा विद्युतको निरीक्षण र झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, १ र २ नम्बर वडाका जनप्रतिनिधिहरु, पत्रकार लगायत स्थानीयको भव्य सहभागीता रहेको थियो । कार्यक्रम दुईवटै स्थानमा औपचारिक रुपमा सञ्चालन गरिएको थियो । त्यहाँका स्थानीयले काँदुरी एग्रीकल्चर एड एसोशियसनले आफुहरुलाई ठुलो न्याय गरेको प्रतिक्रिया दिएका छन् ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?