धनगढी– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।
सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च बालेर सरकारको खोजी गरेका हुन् ।
टर्च बालेर सरकार खोजिरहेको बताउँदै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले भने, ‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरू समस्यामा परिरहेका छन् । सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको छ ।
नेपाली कांग्रेसका सचेतक विक्रमसिंह धामीले सरकार अल्पमतमा रहेको अवस्थामा राजीनामा दिनुपर्ने बताए । प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ । तर मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विशेष अधिवेशनमा सहभागी नहुने रणनीति तय गरेका छन् ।
प्रदेश सभाको विशेष अधिवेशनको सोमबार तेस्रो बैठक स्थगित भएको छ । सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित भएको हो ।
प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार