७ पुष २०८१, आईतवार

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा,


बाजुरा – लगातारको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।  वर्षा लगातार भएपछि पटक पटक अवरुद्ध हुदै आएको साँफे-मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-९ कारागार नजिकै गएको पहिरोले अवरुद्ध हुन थालेपछि राजमार्गको पहिरो रोक्नका लागि त्रिपालको साहारा लिइएको छ ।
सदरमुकाम नजिकै पहिरो बग्न नरोकिएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँबाट करिव पाँच सय मिटर तल त्रिपाल विच्छ्याएको हो ।  अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालय बाजुरा र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा त्रिपाल पहिरो माथि विच्छ्याइएको हो ।
लगातार वर्षा भएका कारण पक्की सडकमा पहिरो गएर बाटो नै अवरुद्ध हुने अवस्था पुगेपछि कुनै विकल्प नहुँदा त्रिपाल हालेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।
उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्ने भनेको भएपनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालेर बाटो अवरुद्ध हुनबाट जोगाउने कार्य गरेको बताए ।  सदरमुकामको बाटो नै बन्द भएमा अन्य समस्या आउने अवस्थालाई मध्येनजर गर्दै बाटो बन्द हुन नदिन त्रिपालको साहारा लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले स्वीकार गरेका छन् ।
उनले भने–“तत्कालको समस्या समाधान गर्नका लागि त्रिपाल हालिएको प्रति नकारात्मक टिप्पणी गर्नु उचित हुदैन । राम्रो काम गर्दा पनि विरोध नरगर्दा पनि विरोधको प्रवृत्ति प्रति दुखेसो प्रमुख जिल्ला अधिकारी पौडेललेको रहेको छ ।”
मंगलबार सडक डिभिजन कार्यालयलाई पहिरो गएको ठाउँमा मेसिनरी वाल हाल्नका लागि जिल्लामा बोलाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।
लगातार वर्षाका कारण राजमार्गमा विभिन्न ठाउँमा जाने पहिरोका कारण दैनिक रुपमा लामो तथा छोटो दुरीमा संचालन हुदै आएका यात्रुबहाक र मालबहाक सवारी साधन अलपत्र पर्ने गरेका छन् । यस्तै सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको  उत्तरी भेगको चार पालिका जोड्ने मार्तडी– कोल्टी सडक तीन सातादेखि अवरुद्ध छ ।
बाउली र अनाई खोलामा पानीको बहाब  बढेको र मार्तडी कोल्टी सडकको जिल्लीमा पहिरो कारण अवरुद्ध बनेको सडक खुलाउन प्रयास भने हुन सकेको छैन ।  सडक संचालन नहुँदा त्यहाँका नागरिकले महंगो भाडामा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । ४२ किलोमिटर रहेको उक्त सडकमा एक हजार भाडा कायम गरिएको भएपनि वर्षायामको बाहना बनाउदै जीप व्यवसायीहरुले प्रति यात्रु एक हजार बढी भाडा असुल्ने गरेका छन् ।
सडक संचालन नहुँदा यात्रुहरु मारमा परेका छन्  । जिल्लीको पहिरो पन्छ्याउनका लागि पहल भएको भएपनि वर्षा नरोकिएका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?