दार्चुला — बैतडी जिल्लाको सुर्नया गाउँपालिका–३ डुङरीमा विद्युत सर्ट भइ गोठमा आगलागी भएको छ । सोमबार राति स्थानीय हिक्मत ऐरीको ढुंगा, माटो र काठले बनेको दुईतले गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार राति विद्युतको तार सर्ट भइ गोठमा आगलागी हुँदा ऐरीले पालेको एउटा खसी मरेको छ । आगलागीका कारण काठ, खर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् ।
आगलागीबाट मानवीय क्षति नभए पनि करिव एक लाख २० हजार बराबरको क्षति भएको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २० असार २०८१, बुधबार