८ पुष २०८१, सोमबार

काठमाडौँमा घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’


काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन । यस चौतारीको उपयोगिता के हो, भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको होइन, दुवै पक्षको लाभमा केन्द्रीत हुने बताउनुभयो । ‘न्यायमा हारेर कसैले पीडा बोध गर्नु नपरोस् । झगडाका कारण समय र सम्पत्ति खर्च गर्नु नपरोस् । विवादमा अल्झिएर जीवन समस्यामा नपरोस्, भनेर हामीले न्यायलाई नागरिकको आँगनमै पुर्‍याउन कार्यक्रम आयोजना गरिएको हो ।’ उहाँले भन्नुभयो, ‘आदर्श समाजको कल्पना गरौँ । जहाँ विवाद नै नहोस् । विवाद भएर अड्डा अदालत जानुभन्दा हाम्रा प्रचलित सामाजिक व्यवस्थाअनुरुप समाधान गरौँ । यसैमा सबैको भलो छ ।’

हिँसा के हो, भन्ने चेतना नभएका कारण व्यक्ति अन्यायमा परिरहेको हुन सक्ने बताउँदै उहाँले न्याय चौतारीले कानुनी व्यवस्थाका बारेमा जानकारी दिने बताउनुभयो । सामाजिक मान्यताका प्रसङ्ग उठाउँदै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ठूलो रुखको मुनि बस्दा एकसरो पानी छेकिने भनाइमा बिम्ब रहेको बताउनुभयो । ‘सानातिना विवादलाई त्यही मिलाउन पाए धेरै द्वन्द्वहरु सिर्जना भएकै ठाउँमै रोकिन्छन् । हामीले देश वुझ्यौँ । विदेश वुझ्यौँ । तर, आफ्नै मौलिक राम्रा अभ्यास विर्सियौँ । यसरी विर्सिएका अभ्यासमध्ये चौतारीमा आफूआफू बसेर विवाद मिलाउने अभ्यास पनि हो ।’ उहाँले भन्नुभयो, ‘चौचारीबाट ‘आकाश छेड, धर्ती नछोड’ जस्ता दायित्व सम्झाउने विषय, सचेतनाका रुपमा छलफल हुन्छन् । यसले व्यक्तिको आवेग, ईख र महात्वाकांक्षा कम गराउँछ । यो विवाद सिर्जना हुन नदिने वातावरण हो ।’

‘प्रजातन्त्र पुनःवहाली भएपछि निर्वाचित जनप्रतिनिधिहरुले केन्द्रमा एउटा अनौपचारिक संयन्त्र बनाएर मेलमिलापको अभ्यास थालेको थियो । त्यसको संयोजक म नै थिएँ ।’ कार्यक्रममा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, ‘शासन व्यवस्था परिवर्तनपछि स्थानीय तहमा न्यायिक समिति गठन गरेर औपचारिक संयन्त्र निर्माण भयो । अहिले त समितिमा भएका अधिकार वडामा वडाबाट पनि टोलका चौतारीमा आएको छ । यो न्यायिक विकेन्द्रीकरणका कोणबाट सराहनीय अभ्यास हो ।’ वडामा हुने मेलमिलापका कामलाई न्याय चौतारीले अझ सहज र सरल बनाउन सहयोग गर्ने न्यायिक समितिकी सदस्य एवं वडा महिला सञ्जालकी संयोजक आशा श्रेष्ठ रौनियारले धारणा राख्नुभयो ।


प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?