काठमाडौं । महानगर गौरव ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत काठमाडौं महानगरपालिकाले ३४ भन्दा धेरै पेशाका सीपमूलक तालिम दिने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला’ आयोजना गर्ने जानकारी दिएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि योजनाअन्तर्गत महानगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको छ,’ काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘हामीले यो कार्यक्रम अन्तर्रगत पाँच हजार जनालाई रोजगारी दिने लक्ष्यसहित काम गर्दै आएका छौँ । त्यति संख्यामा रोजगारी दिनका लागि थरीथरीका कार्यक्रम गर्नुपर्ने हुन्छ । हामीले त्यहि अनुसार ‘सीप मेला’ को आयोजना गर्न लागेका हौँ ।
‘सीप मेला’ मा २ हजार ८१ जनालाई एक महिने निःशुल्क तालिम दिन लागेको पनि डंगोलले जानकारी दिनुभयो । ‘सीप मेला’ मा रोजगारदाता र वेरोजगार भएर बसेका अनि रोजगारीका लागि अवसर खोजिरहेकाहरुलाई एकै ठाउँमा राखेर व्यावसायिक तालिमसहित रोजगारी सिर्जना गर्ने उदेश्य हामीले लिएको छौँ ।महानगरपालिकाले ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ’श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको पनि जानकारी दिएको छ ।
डंगोलले नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने वातावरण निर्माण गर्नेलगायतका उदेश्य पनि ‘सीप मेला’ मा राखिएको जानकारी दिनुभयो ।‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि योजनाअन्तर्गत नै ‘एक वडा एक नमूना’ कार्यक्रम पहिलो चरणमा १४ वटा वडामा सञ्चालनमा ल्याएको पनि डंगोलले जानकारी दिनुभयो । ‘आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु तालिमको लक्ष्य हो,’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘तालिममा सहभागी सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘अन द जब टे«निङ्, ओजेटी’ मध्ये एउटा विधामा आवद्ध गराउने निश्चित गरेर तालिम थालनी गर्दैछौँ ।’
तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ एफपी टीइएन, ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ । यसरी रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय, शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर साझा नतिजाका लागि काम भइरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
सीप मेलामा तालिमका लागि १० बटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ। ती क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । महानगरपालिकाले दिएको जानकारी अनुसार अटो मोबाइल्स रहेको छ । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) छन् ।
दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, बेकरी, वार टेन्डिङ र वेटर÷बेट्रेस प्रशिक्षण हुनेछ । सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सिसिटिभी क्यामरा विषय राखिएका छन् ।
मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ। आर्ट एण्ड कल्वरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ। यी क्रमशः पाँचौं र छैटौं क्षेत्र हुन्। सातौं क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ ड्रेस मेकर र फेसन डिजाइनिङको कक्षा हुनेछ।आठौं क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ।नवौं क्षेत्र डिजाइनिङ हो। यसमा साइन मेकिङ प्रशिक्षण हुनेछ।दशौं विधा पुरोहित हो। यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ । तालिमको अन्तिम दिन रोजगार मेला हुने महानगरले जनाएको छ ।
प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार