काठमाडाैं । शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नं ५ का सांसद माननीय प्रदीप पौडेलले नेपाली कांग्रेस सरकार बनाउने खेलमा अहिले नै लाग्नु नहुने बताएका छन् । काठमाडौँ सुकेधारामा आयोजित शिक्षक संघ बागमती प्रदेशको चौथो अधिवेशनमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘ नेपाली काँग्रेस भ्यागुताको धार्नी पुर्याउन लाग्नु हुँदैन, कांग्रेसले रचनात्मक भएर प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्दछ, देश र जनताको पक्षमा खरो रुपमा प्रस्तुत हुनुपर्दछ ‘, उनले भने ।
पछिल्लो राजनीतिक घटनाक्रम र विभिन्न क्षेत्रमा उठेका शंका आशङ्का बारे चित्रण गर्दै नेपाली कांग्रेस एमाले सँग मिल्न लागेको हल्ला चलेको समेत बताएका छन् । ‘यो हल्ला मात्रै हो, कांग्रेसले अहिले नै हतार गर्न हुँदैन’, उनको भनाइ थियो । सरकारमा जान कांग्रेसले पूर्ण तयारी गरेर निश्चित उद्देश्य बनाएर मात्र जानुपर्ने धारणा उनको रहेको थियो । ‘आज देशभरी जताततै बेथिति मात्र रहेको र भ्रष्टाचार मौलाउँदै गएकोले त्यसको अन्त्य गरेर सुशासन कायम गर्न सक्नुपर्छ अनि मात्रै जनताले विश्वास गर्ने स्थिति निर्माण हुन्छ’, उनको रहेको भनाइ छ ।
‘दुईवटा ठूला पार्टी मिल्दा स्थिरता त कायम हुन्छ तर स्थिरताले मात्रै पुग्ने स्थिति छैन, उनको भने । ‘अहिले देशलाई ठूलो आर्थिक तथा प्रशासनिक व्यय भार थपिएको छ । यसलाई घटाउनु आजको प्रमुख आवश्यकता यो हो । चालू खर्च घटाएर पूँजीगत खर्च सत प्रशासित गर्ने गरी निकास खोज्नु पर्छ । यदि कांग्रेस एमाले मिल्ने हो भने दुई वटा ठूला पार्टी मिलेर संविधान संशोधन गर्ने सहमति गरेर संघ तथा प्रदेशका सांसदको संख्या र मन्त्रालयको संख्या घटाउने, स्थानीय तहको संख्या नै घटाउने र वडाकाे संख्या बढाउने गरी सम्झौता गर्नु पर्ने’, उनको भनाइ रहेको छ । यसैगरी चुनाव अघि गठबन्धन नगर्न संवैधानिक रूपमै व्यवस्था गर्नु पर्ने उनको धारणा थियो ।
यसैगरी कार्यक्रम बोल्दै, नेता पौडेलले शिक्षकहरूका मागमा सरकारले गम्भीर भएर सम्बोधन गर्नु पर्ने र नयाँ नयाँ अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । यसका लागि टिचर्स एकेडेमी बनाएर शिक्षकलाई उचित तालिम र प्रशिक्षण दिनुपर्ने उनले माग रहेको छ । शिक्षा क्षेत्र देश निर्माणको पहिलो आधार भएकाले सार्वजनिक शिक्षा क्षेत्रको सुधारका लागि सम्पूर्ण शिक्षकहरूसँग सहकार्य गरेर ‘ सार्वजनिक शिक्षा सुधार अभियान’ घोषणा गर्नु पर्ने उनको भनाइ रहेको छ ।
त्यसैगरी ‘शिक्षकहरूलाई थप सेवा सुविधा दिन, शिक्षकहरू काे तलब बढाउन तथा शिक्षकहरूका लागि छुटै अस्पतालको समेत व्यवस्था गर्न’ सरकारलाई माग गरेका छन् । शिक्षण पेशामा लागेकालाई सम्मान गर्न तथा सामाजिक योगदानको आधारमा मूल्याङ्कन गरी सम्मानित हुने वातावरण सरकारले बनाउनुपर्ने उनको धारणा रहेको थियो ।
प्रकाशित मिति: २७ फाल्गुन २०८०, आईतवार