९ पुष २०८१, मंगलवार

माओवादीसँग गठबन्धन बारे हाम्रो धारणा के हो ?


– अजयबाबु शिवाकोटी

‘महासमिति बैठकको पूर्वसन्ध्यामा तीन ओटा प्रस्तावहरुमाथि छलफल गरिराखेका छौँ । यही बीचमा राजनीतिक, नीति र सांगठनिक प्रस्तावहरु आएका छन् । खासगरी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धनका बारेमा उहाँको पार्टीको विधान अधिवेशनमा माओवादीका कार्यकर्ता भन्दा चर्को कुरा गरेर जुन अभिव्यक्ति दिनुभएको छ यस बारेमा हाम्रो धारणा के हो ? यस विषयमा उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले प्रचण्डसँग कुरा गरेको मिडियामा मुखरित भएको छ । खासगरी आफ्ना कार्यकर्तालाई खुशी पार्न कार्यकर्ताहरु भन्दा चर्को स्वरमा बोल्नुपर्ने बाध्यताको बारेमा पनि उहाँले बताउनु भएको टिप्पणी पनि मिडियामा आएको छ । प्रचण्ड आफैँ नेपाली कांग्रेसलाई भड्काएर कांग्रेसले पनि यो महासमिति बैठकमा गठबन्धनका बारेमा थप राजनीतिक टिप्पणी गरोस् भन्नका लागि यो टाइमिङ प्रयोग गर्नुभएको छ भने यस बारेमा महासमितिमा पेश गर्ने अफिसियल डकुमेन्टमा हाम्रो धारणा के हो यो म यहाँ सोध्न चाहन्छु । यसलाई हाम्रो महासमितिको यो डकुमेन्टमा समावेश गरियोस् भन्ने कुरा पनि आग्रह गर्न चाहन्छु ।

२०८२ मंसिर मसान्तभित्र हाम्रो १५ औँ महाधिवेशन गर्ने कुरा आएको छ । २०८४ का तीन ओटा तहका चुनावलाई हेर्ने हो भने ‘कुलिङ पिरियड’ कम्तीमा एक डेढ वर्ष दुई वर्ष चाहिने वाला थियो । त्यसकारण यो टाइमिङ उपयुक्त लागेको छ । त्यही हिसाबले हामीले कार्यान्वयनतर्फ लैजान सकियो भने यो उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ छ । यो कार्यान्वयन गर्नेतर्फ यो हलले, सँगसँगै महासमिति र सिङ्गो पार्टीपंक्ति यसमा तयार रहोस् भन्ने पनि आग्रह गर्न चाहन्छु ।

यो बीचमा समुदायमा कांग्रेसको अभियानका क्रममा म आफू रौतहटमा प्रतिनिधिको रुपमा खटिएको थिएँ । र त्यस वरिपरिका जिल्लाहरु पनि घुम्ने अवसर पाएको थिएँ । त्यो घुम्दैगर्दा केही चित्रहरु देखिएका छन् । तराई मधेसमा चित्रहरु धार्मिक रुपमा बदलिएका छन् । कोशीको चित्र जातीय रुपमा बदलिएका छन् । र अन्य क्षेत्रहरुमा पनि जातीय र धार्मिक चित्रहरु बदलिएका छन् । बदलिएको यो चित्र सँगसँगै जुन ध्रुवीकरण हामी देखिरहेका छौँ यो ध्रुवीकरणले सँगसँगै ‘मिडिल स्पेस’हरु खुम्चाइरहेको छ । हामीलाई थाहा छ मिडिल स्पेसमा नै ‘डेमोक्रेसी सर्भाइभ’ गर्छ र मिडिल स्पेस कमजोर हुँदै गयो भने डेमोक्रेसी पनि ‘श्रृंक’ हुन्छ । खुम्चिन्छ । यसले अप्ठेरो पार्न सक्छ । यसबारेमा एकपटक यो महासमिति बैठकले यसलाई ध्यान दिनुपर्ने अवस्था छ ।

पछिल्लो समयमा अटेरी पुस्ताहरु जन्मिरहेको छ । डेमोक्रेसी बचाउने भनेको यो अटेरी पुस्ताले अवलम्बन गरिरहेको अटेरीतन्त्रले नै हो । अटेरीतन्त्रमा ‘इन्जोए’ गर्ने अटेरी नयाँ पुस्ताका साथीहरुलाई सम्बोधन गर्ने गरी कसरी अगाडि बढ्छौँ भन्ने पनि ध्यान दिन जरुरी छ यो नीतिगत निर्णय गर्ने फोरम मार्फत ।

स्थानीय तहदेखि केन्द्रसम्म
आफू वरिपरि भएको भ्रष्टाचारलाई देखेर आम नागरिक सबैभन्दा धेरै रिसाइरहेको छ। प्रत्येक तहका नागरिकहरुको कुरा सुन्दा खासगरी समुदायमा कांग्रेस जाँदैगर्दा भ्रष्टाचारका अनेक कथा सुनिए। विकासे कार्यक्रम बजेटमा पार्नु अगाडि सरकारी संयन्त्रमा पहिले नै कमिशन दिनुपर्ने र अन्तिममा निकासा निकाल्दा पनि कमिशन दिनुपर्ने । कमिशनको चक्करबाट जबसम्म हामीले यो सिष्टमलाई बाहिर निकाल्न सक्दैनौँ डेमोक्रेसी यही नाममा खतरामा पर्नेछ । अहिले सबैभन्दा बढी आक्रमण भ्रष्टाचार र कुशासनको विषयलाई लिएर भइरहेको छ । भ्रष्टाचार रोक्ने काम गर्न सकेनौं भने व्यवस्था माथि यो आक्रामण अझ बढ्छ भन्ने कुरालाई पनि ध्यान दिनु जरुरी छ ।’

(केन्द्रीय समितिमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रस्तुत गर्नुभएको विचारको संक्षिप्त रूप)


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?