२७ पुष २०८१, शनिबार

काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको सञ्जाल ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन


१ चैत काठमाडौं। काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको सञ्जाल ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा बसेको बैठकले सञ्जाल गठन गरेको हो । बैठकले उपत्यकाका उपप्रमुख र उपाध्यक्षको क्षेत्रधिकार भित्र रहेका सबै काममा एकरुपता ल्याउनका लागि सञ्जाल गठन गरेको डंगोलले जानकारी दिनुभयो । ‘न्यायिक समिति भनेको स्थानीय तहको अदालत नै हो,’ उहाँले भन्नुभयो, ‘जिल्ला अदालत काठमाडौँका मुख्य न्यायधीश राजुकुमार खतिवडाज्युको समेत उपस्थितिमा बसेको बैठकमा हामीले गरेका कामहरु न्यायिक समितिको काम, कर्तव्य र अधिकारसँगै न्यायिक निरुपणका लागि आवश्यक विषयमा उहाँसँग छलफल गरियो । यो एकदमै फलदायी भयो ।’
बैठकमा उपत्यकाका विभिन्न विषयवस्तुका बारेमा उपत्यकाका पालिकाका उपप्रमुख र उपाध्यक्षसँग छलफल गर्दा उपप्रमुख र उपाध्यक्षको क्षेत्रधिकार भित्र रहेका सबै कामलाई एकरुपता ल्याउनका लागि एउटा सञ्जाल बनाउँदा राम्रो हुन्छ भन्ने भएपछि सबैको सल्लाहमा सञ्जाल बनाएको पनि डंगोलले जानकारी दिनुभयो । समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न पनि सञ्जाल फलदायी हुने डंगोलको भनाई छ ।
‘न्यायिक समितिका कुरा, अनुगमनका कुरा, उपभोक्ता हितलगायतका विषयमा एकरुपता ल्याउनका लागि पनि यो सञ्जाल फदायी होला भन्ने कोणबाट छलफल भयो । यो छलफलमा हामीले यसका लागि काठमाडौं उत्यका भित्रका उपप्रमुख–उपाध्यक्षको एउटा सञ्जाल बनाऔँ भन्ने भयो,’ डंगोलले भन्नुभयो, ‘यो सञ्जाललाई अब तालिका बनाएरै उपप्रमुख–उपाध्यक्षको क्षेत्रधिकार भित्र पर्ने विषयहरुलाई एकरुपता कायम गर्दै प्रभावकारी बनाउने ढंगले अघि बढाउँछौँ ।’
उपप्रमुख–उपाध्यक्षहरुको क्षमता विकासमा पनि यसले टेवा पुर्याउने विश्वास लिएको डंगोलले जानकारी दिनुभयो । ‘हामीले सञ्जाल बनाउने त निर्णय गर्यौ । अब यस्ले के गर्छ भन्ने पनि त प्रश्न आउँछ,’ उहाँले भन्नुभयो, ‘उपप्रमुख–उपाध्यक्षको भेट हुँदा चिया खाने गफ गर्ने छुटिने होइन । हरेक बैठकमा हामी कुनै एक निश्चित विषयवस्तुमा केन्द्रित भएर छलफल गर्छौ । विषयविज्ञको उपस्थितिमा कार्यपत्र नै प्रस्तुत गरेर बैठकमा छलफल गर्नेसम्मको तयारी हामीले गरेका छौँ ।’
काठमाडौं महानगरमा बसेको पहिलो बैठकले सञ्जाल विस्तारसँगै दोस्रो बैठकको अध्यक्षता कस्ले गर्ने भन्ने विषयको पनि टुंगो लगाएको उहाँले जानकारी दिनुभयो । ‘हामी जुन पालिकामा बैठक बस्छौँ । त्यहि पालिकाकै उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘कम्तिमा एक–एक महिनामा बैठक बस्ने र त्यहि पालिकाको उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्ने भन्ने भएको छ । यो पटक काठडमाडौं महानगरपालिकामा बैठक बसेकाले अध्यक्षता मैले गरेँ । अब अर्को बैठक बुढानिलकण्ठमा बस्छ । त्यहाँको अध्यक्षता बुढानिलकण्ठकै उपप्रमुखले गर्नुहुन्छ । अर्को पालिकामा बस्दा त्यहि पालिकाको उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्नुहुन्छ ।’
अब तेस्रो बैठकको मिति र स्थान बुढानिलकण्ठमा बस्ने बैठकले गर्ने जानकारी उहाँले दिनुभयो । ‘तेस्रो बैठकको मिति र विषय दोस्रो बैठकले निर्णय गर्छ । यो खालको प्रणालीको थालनी गर्ने हामीले निर्णय गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले बैठकको निर्णय माइन्युट गर्नका लागि सचिवालयचाँहि काठमाडौं महानगरपालिकाको उपप्रमुखकै सचिवालयले हेर्ने गरी गर्ने भन्ने निर्णय गरेका छौँ ।’
कतिपय महत्वपूर्ण विषयहरु उपप्रमुख–उपाध्यक्षको कार्यक्षेत्र भित्र पर्ने भए पनि प्रमुख र अध्यक्षले पनि जानकारीमा राख्नुपर्ने भएकाले बैठकमा आवश्यकताका आधारमा प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई बोलाउने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । ‘हामीले आवश्यकताका आधारमा प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि बैठकमा बोलाउने र बैठकले गरेका निर्णय प्रक्रियाबारे ‘अपडेट’ गराउने पनि तयारी गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्योसँगै आवश्यकताका आधारमा कानुन हेर्ने, अनुगमन हेर्ने विभाग वा शाखाको पनि प्रतिनिधित्व गराउने तयारी हामीले गरेका छौँ ।’
बैठकमा वुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, टोखाका उपप्रमुख मुरारी तामाङ्, नागार्जुन नगरकी उपप्रमुख शुशिला अधिकारी, कागेश्वरी मनोहरा नगरकी उपप्रमुख शान्ता थापा, चन्द्रागिरी नगरकी उपप्रमुख बसन्ती श्रेष्ठ सहभागी हुनुभएको थियो । त्यस्तै गोकर्णेश्वरकी उपप्रमुख सान्नानी लामा, तारकेश्वरकी उपप्रमुख सिर्जना वुर्लाकोटी, मध्यपुर थिमीका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, सूर्य बिनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराई उपस्थित हुनुहुन्थ्यो । ललितपुरको महाङ्काल गाउँपालिकाबाट उपाध्यक्ष डोल्मा माया गोलेको उपस्थिति थियो ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार