९ पुष २०८१, मंगलवार

रोमाञ्जक जीतले पुर्यायो नेपाली क्रिकेट टोलीलाई सिधै विश्वकप छनाेटमा


२ चैत्र, काठमाडाैँ । नेपाल सोझै विश्वकप छनोटमा पुगेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गर्दै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो ।

टस हारेर बलिङ गरेको नेपालले ३११ रनको लक्ष्य पछ्याएको थियो । तर, जवाफी ब्याटिङ गर्दा सुरूवाती चरणमा नेपालको अवस्था नाजुक थयो । पहिलो २ ओभरमा २ विकेट गुमाएपछि नेपालको विश्वकप छनोट खेल्ने सपना चकनाचुर हुने अवस्थामा पुगिसकेको थियो ।

तर, तेश्रो विकेटपछि नेपालले सम्हालिकएको खेल देखायो । नेपालको यो जितमा ४ खेलाडीले अर्धशतक प्रहार गरे । कुशल भुर्तेलले ५०, भिम शार्कीले ६७, आरिफ सेखले ५० बनाउँदा गुल्सन झाले अविजित ५० रनको महत्वपूर्ण योगदान गरेका थिए ।

त्यस्तै, ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक अविजित शतकीय इनिङ खेलेका युएईका आसिफ खानले टोलीको हार टार्न भने सकेनन् । ब्याड लाइटका कारण अपनाइएको डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनको जित निकाल्दै नेपाल विश्वपक छनाेटमा पुग्न सफल भयो ।

सँधै बलिङमा बलियो देखिने नेपाल बिहीबार भने बलिङमा नै कमजोर देखियो । जसको फाइदा उठाउँदै युएईले ३१० रन बनाउन सफल भयो ।

सन्दीपको उत्कृष्ट प्रदर्शन

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएका खेलहरूमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन तारिफ योग्य रह्यो। उनले खेलेका २४ खेलमा ७५ विकेट लिन सफल भए ।

नाबालिक बलात्कार आरोपमा हिरासतबाट धराैटीमा छुटेपछि उनी उच्च मानसिकताका साथ मैदान फर्किए । उनले नेपालमा भएको नेपाल, स्कटल्याण्ड र नामिवियाको त्रिदेशीय सिरिजमा उच्च प्रदर्शन गरे । नेपाली दर्शकहरूको ठूलो साथ रहेको उक्त सिरिजमा सन्दीप एक्लैले चार खेलमा १३ विकेट लिन सफल भएका थिए ।

सुरूवाती तीन खेलमा तीन-तीन विकेट लिएका उनले अन्तिम खेलमा स्कटल्याण्डविरूद्ध ४ विकेट लिन सफल भए ।

टियु क्रिकेट मैदानमा भएको उक्त खेलपछि सन्दीपको प्रदर्शन थप तिखारियो । उनी बलिङमा मात्रै सिमित भएनन्, नेपालका लागि आवश्यकता पर्दा ब्याटिङमा समेत राम्रो साझेदारी गरे ।

सुरूवाती चरणमा धराैटीमा छुटेका सन्दीपलाइ विदेश जान भने प्रतिबन्ध लगाइएको थियो । त्यसपछि उनले विदेश जान समेत पाउनुपर्ने माग सहित गरेको उजुरीमा काठमाडाैँ अदालतले अनुमति दिएपछि उनी युएईमा भएको सिरिजमा समेत सहभागी भएका थिए ।

युएई, नेपाल र पपुवा न्युगिनिको उक्त त्रिदेशीय सिरिजमा पनि उनको योगदान महत्वपूर्ण नै रह्यो । उनले उक्त सिरिजमा समेत ८ विकेट लिन सफल भए ।

त्यसैगरी, बिहीबार भएको खेलमा पनि सन्दिपको नाममा एक विकेट रह्यो । उनले युएईका मोहम्मद वासिमलाई आउट गरे । वासिमले पहिलो इनिङमा आक्रामक ब्याटिङ गर्दै ४९ बलमा ६३ रन बनाएका थिए ।

रोहितको कप्तानीमा नेपालले समातेको लय 

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई क्यानले भदाै २३ गते निम्बन गर्यो । उक्त आरोप लागेसँगै पक्राउ पुर्जी जारी भएपछि उनि नेपाली राष्ट्रिय टोलीको कप्तानबाट निलम्बित भएका थिए ।

सन्दीप निलम्बनमा परेसँगै नेपालको कप्तानी गर्ने माैका ब्याटर रोहित पाैडेलले पाए । नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक २५ गते रोहितलाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो । उनको कप्तानीमा नेेपालले उत्कृष्ट पदर्शन गर्यो ।

त्यस्तै, नेपालको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाइ नियुक्त भएपछि नेपालको प्रदर्शनमा थप सुधार भयो । बलिङमा राम्रो गरिरहे पनि ब्याटिङमा सँधै निराश हुने नेपाली टोली देसाइको प्रशिक्षकत्वमा भने निराश हुनु परेन ।

टियु क्रिकेट मैदानमा भएका खेलमा २७० रन भन्दा माथिको लक्ष्य पछ्याएता पनि जित निकालेर नै छोड्यो । रोहितले कप्तानी सम्हालेपछि र नयाँ प्रशिक्षक नियुक्त भएपछि नेपालको समग्र सबै पक्षमा व्यापक सुधार देखियो ।

खेलाडीले दिए प्रशिक्षक देसाईलाई जितको श्रेय 

प्रशिक्षक देसाईको प्रशिक्षकत्वमा नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । त्यसमध्ये नेपालले ११ खेलमा जित हासिल गर्दा जम्मा एक खेलमा मात्रै पराजय व्यहोर्यो । १५–२२ फागुनमा दुबईमा युएई र पपुवा न्युगिनीविरुद्ध चारमध्ये ३ खेल जितेको नेपाल युएईसँग मात्रै पराजित भयो ।

सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेल्दा र सन् २०१६ मा यू–१९ टिमले विश्वकप खेल्दा सहित विभिन्न समयमा देसाईले नेपाली क्रिकेटलाई नजिकबाट नियाल्ने माैका पाएका छन् । उनले नेपाली टोलीको प्रदर्शन सुधार्न ‘ह्याप्पी ड्रेसिङ रुम’को अवधारणा ल्याएका छन् । मैदान बाहिरको माहोलले मैदानको प्रदर्शनमा प्रभाव पार्ने पक्षमा परिचित उनले ड्रेसिङ रुम ह्याप्पी राख्ने अवधारणाबाट काम सुरू गरे ।

आइतबार युएईमाथि १७७ रनको सानदार जितपछि कप्तान रोहितले भनेका थिए, ‘ मोन्टी सर आएदेखि सबै कुरा सजिलो भएको छ । टिमको वातावरणदेखि सबै कुरा उहाँले सम्हाल्नुभएको छ । सरले सबैकुरामा स्वतन्त्र छाडिदिनुभएको छ । कसैलाई दबाव दिनुभएको छैन । आफ्नो खेल खेल भनेर छाडिदिनुभएको छ । सँगसँगै खेलाडीहरुले पनि आवश्यक समयमा राम्रो योगदान गरे । विशेष गरी आसिफ, कुशल, सन्दीपले र अरु सबै जनाले आफ्नो जिम्मेवारी निभाइरहेका छन् ।’

देसाई नेपालभन्दा पहिले वेष्ट इण्डिजको व्याटिङ प्रशिक्षकको रूपमा काम गरिरहेका थिए । त्यहाँको कार्यकाल पुरा गरेर नेपालको जिम्मेवारी सम्हालेका उनले महत्वपूर्ण जीतको खुसी साट्न पाएका छन् । यसबारे उनि भन्छन्, ‘म यो अनजान गन्तव्यको जिम्मेवारी लिँदै गर्दा निकै उत्साहित थिएँ । केही खेलाडी त पहिलेदेखि नै चिन्थें । फेरि उनीहरुसँग काम गर्न उत्सुक पनि थिएँ । टिमको रुपमा मैले पहिले पनि भन्दै गरेको कुरा हो– ‘ह्याप्पी ड्रेसिङ रुम’ । यो कुरा २८ जनवरीबाट आजसम्म निकै राम्रो रह्यो ।’

ब्याटिङमा जमेका तीन भाइ

नेपालको ओडिआई मान्यता जोगाउने सानदार प्रदर्शनमा बलिङमा सन्दीप, ललित राजवंशी र करन केसी लगायतको जत्तिकै भूमिका ब्याटिङ तर्फ पनि कप्तान रोहित पाैडेल, आसिफ सेख र आरिफ सेख लगायत अन्य ब्याटरहरूको रहेको छ । त्यसो त यो प्रतियोगिताको दाैरान सन्दीपको पनि ब्याटिङ राम्रै चलेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएका खेलहरूमा नेपालका लागि रोहित, आसिफ र आरिफ सबै भन्दा बढी रन जोड्ने तीन खेलाडी हुन् । उनीहरूले क्रमशः ९८३, ८८४ र ५७८ रन बनाएका छन् । यस प्रतियोगितामा रोहितले ३१ खेल खेल्दा आसिफले २८ र आरिफले २१ खेल खेलेका छन् ।

नेपाललाई प्रतिस्पर्धी मुलुकहरूले दिएको ठूलो रनको लक्ष्य पछ्याउन अरू खेलाडीहरू सहित यी तीन ब्याटरको भूमिका उत्तिकै प्रभावशाली रहेको छ। अझ कप्तान रोहितले सम्हालिएर खेल्दा नेपालमा भएको सिरिजको अन्तिम खेलमा स्कटल्याण्डमाथि नेपालले अविश्वसनीय जीत निकाल्दै क्लिन स्विप गरेको थियो ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?