मनाङ। चलचित्र ‘खुस्मा’ को पहिलो तालिका अन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो ।
त्यस्तै, हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । उक्त चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थाल्नुभएको निर्माण पक्षको भनाइ रहेको छ ।
सो चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गरेका हुन् । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ भने यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहेका छन् ।
उक्त चलचित्रमा एस डी योगीको सङ्गीत र दीपक बज्राचार्यले छायाङ्कन गर्नेछन् । सो चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ।