८ पुष २०८१, सोमबार

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’ ? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे


सिरहा। सिरहाको गोलबजार नगरपालिका-६ स्थित प्रसूति गृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ ।

जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ ।

त्यस्तै, प्रसूति गृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । भुईँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् । उनेले भनिन्, ‘वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तातिएर उखुम हुन्छ । नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निसास्सिँदो धुलो उठ्ने गर्दछ ।’ स्वास्थ्यकर्मीले गर्भवती र नवजात शिशुको ज्यान जोखिममा राखेर सुत्केरी गराउनु पर्ने अवस्था रहेको छ ।

‘सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन’, उनले भनिन्, ‘प्रसूति गृह वरिपरि वनमारा र घाँसपातको घारी छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । हामी स्वास्थ्यकर्मी लट्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ ।’ अनमी श्रेष्ठका अनुसार यस प्रसूति गृह दुई-चार वर्ष पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसको स्तरोन्नति गर्न गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई जानकारी गराइएको भएता पनि समाधान हुन सकेको छैन ।

विसं २०६३ देखि यस प्रसूति गृहमा कार्यरत सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारको पनि उस्तै गुनासो छ । वर्षौँदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको उनको भनाइ रहेको छ । ‘प्रसूति गृहको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो । यो सानो टहरोभित्र दुई वटा शय्या राखिएको थियो । यो टहरो भत्काइएका कारण शय्या झिकेर कौसीमा राख्नुपरेको छ’, उनले भनिन्, ‘वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर भए पनि सुत्केरी आमालाई यही शय्यामा सुताउनुपर्छ ।’

त्यस्तै, गोलबजार स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूति गृहको भौतिक संरचना सुधार तथा सुविधा सम्पन्न ठाउँमा स्थानान्तरणको लागि पटक पटक पहल गरेता पनि केही प्रगति हुन नसकेको गुनासो गरेका छन् ।

एक जना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइने तर यदाकदा दुई-तीनजना थपिँदा कहाँ राख्ने भन्ने समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । प्रसूति केन्द्र २४सैँ घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन । पाले सुत्ने खाटमा अहिले ‘अल्ट्रासाउन्ड’ गरिन्छ । स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन । कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ ।

नेपाली कांग्रेस गोलबजार नगर सभापति राजदेव साह सुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको बताए । उनले भने, ‘प्रसूति सेवाको यो हालत छ, लज्जास्पदभन्दा पनि जनताको स्वास्थ्यसँग हदैसम्मको खेलवाड गरिएको छ । नगरपालिका गोल बजारको ध्यान जानुपर्ने हो ।’ सभापति साहका अनुसार गोल बजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ । साठी हजारभन्दा माथि जनसङ्ख्या भएको गोलबजार नगरपालिकामा एक जना ‘एमबिबीएस’ चिकित्सक छैनन् ।

त्यसैगरी, हालै स्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई ‘अल्ट्रासाउन्ड मेसिन’ प्रदान गरेको थियो । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ । सी अनमी निरीक्षक शाक्यले भने, ‘मैले तालिम त लिएर आएँ, तर मेसिन त बिग्रेको आएछ । कसरी काम गर्ने रु नगरपालिकालाई जानकारी गराएको छु । अहिलेसम्म कुनै वास्ता गरिएको छैन ।’

स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो । सडक विभागले खाली गरेर वर्षौँदेखि रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति गृह बनाइएको बताइएको छ । तीस वर्ष बित्यो तर प्रसूति गृहको जीर्णोद्धारसमेत भएन । ‘२१औँ शताब्दीमा बाख्रा गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ’, उनको भनाइ थियो ।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने उक्त प्रसूति गृहमा जग्गाको विवाद भएकाले मर्मतसम्भार गर्न नसकिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रसूति गृहलाई अन्यत्र स्थानान्तरण गरिने प्रक्रिया सुरु गरेको छ, तर स्थानीयले भने नगरपालिकाले धेरै पहिलादेखि यस्तो आश्वासनमात्र दिएको र जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गरेका छन् ।

विसं २०५० मा स्थापना भएको यस प्रसूति गृह गोलबजार स्वास्थ्य चौकी मातहतमा छ । महिनामा करिब एक सय ५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गरिएको दर्ता रजिष्ट्ररमा देखिन्छ । तत्कालीन समयमा यस प्रसूति गृह स्थापना गर्न पहल गरेका ७४ वर्षीय समाजसेवी रामजी यादवले भग्नावशेष प्रसूति गृहको बिजोग अवस्था देखेर आफूलाई चिन्ता लागेको बताएका छन् ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?