११ पुष २०८१, बिहीबार

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात


खोटाङ। दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ ।

उक्त केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिएका छन् ।

‘जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको देखिन्छ’, उनले भने, ‘आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान रहेको छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।’

त्यस्तै, जन्तेढुङ्गा –६ दिप्लुङबाट मात्रै यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा जगत् राईले दाबी गरेका छन् । ‘हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस वर्ष रु एक करोडभन्दा बढीको निर्यात गरेका छौँ’, उनले भने, ‘कसैले आफैँले बजारसम्म पुर्‍याएर बिक्री गरे भने, कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन् ।

उक्त जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा-५ चिसापानीस्थित घोर्ले भन्ने एउटै गाउँबाट रु एक करोड बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन् । उक्त वडाको वाचिपाला, खुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ । जन्तेढुङ्गा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिए । जन्तेढुङ्गाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ ।

त्यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खामा सुन्तलाखेती गर्ने रामबहादुर कुँवरको बगानमा यस वर्ष असिनाले क्षति पुर्‍याएकाले गत वर्षको तुलनामा आधामात्र उत्पादन भएको जनाइएको छ भने कुँवरले गत वर्ष रु नौ लाखको सुन्तला बेचेको बताएका थिए । आफूले उत्पादन गरेको सुन्तला दिक्तेल बजार र गाईघाटमा प्रतिकेजी रु एक सय १० देखि रु एक सय ३० सम्ममा बिक्री भइरहेको उनले बताए ।

रावाबेँसी गाउँपालिकामा पनि यस वर्ष सुन्तला उत्पादन राम्रै भएको वडा नं २ खार्पाका स्थानीय किसान राजबहादुर मगरले बताए । ‘सुन्तलाबाट आएको आम्दानीले वर्षभरि माछा-मासु खान र घर खर्च पुग्छ । यसअघि रोगले गर्दा धेरै क्षति भएको थियो’, उनले भने, ‘केही वर्षदेखि बगानमा देखिएको रोग गत वर्ष नियन्त्रण गर्ने प्रयास गरेका थियौँ । केही हदसम्म सफल पनि भएका छौँ । सम्भवतः आगामी वर्षदेखि धेरै समस्या नदेखिएला भन्ने लागेको छ । रोग देखिएन भने राम्रो उत्पादन हुन्छ ।’

उक्त जिल्लाका अन्य स्थानीय तहका किसानले पनि सुन्तलाबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । जिल्लामा यातायातको सुविधा सहज भएपछि बजारसम्मको सिधा पहुँच विस्तार भएसँगै सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेको कृषि प्रसार अधिकृत पण्डितले जानकारी दिए । सो जिल्लामा उत्पादित सुन्तला जिल्लाभित्रकै हाटबजार तथा धरान, विराटनगर, काठमाडौंलगायतका सहरमा निर्यात हुने गरेको पाइएको छ भने जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी बाहिरी जिल्लाबाट आएका ठेकेदारले खरिद गर्ने गरेका छन् ।

उक्त जिल्लामा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बजारको समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । ‘सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि धेरै किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गर्न थालेका छन् । आगामी दिनमा व्यावसायिकरूपमा खेती गर्ने किसानका लागि सुन्तला ठूलो आर्थिक आम्दानीको स्रोत हुने अनुमान गरेका छौँ ।’सुन्तलाखेती गर्ने किसानका लागि कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।

सो जिल्लाका हरेक स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका कार्यक्रम बनाएर लागू गरेका छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?