१० पुष २०८१, बुधबार

मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गर्ने तयारी


डुम्रे,तनहुँ। मर्स्याङ्दी नदी कोरिडोर अन्तर्गतका स्थानीय तहले समग्र कोरिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन् । तनहुँको बन्दीपुरमा आइतबार बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिकग्राम बनाउने लक्ष्यका साथ अध्ययन गरिने भएको हो ।

गण्डकी प्रदेशले एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएअनुरूप यस कोरिडोरमा सम्भाव्यता भएका पर्यटकीयस्थल प्रशस्त रहेकाले पहिचान र अध्ययनका लागि अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी नदी करिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले जानकारी दिएका छन् । उनका अनुसार कोरिडोरका पालिकामा पर्ने पर्यटकीय स्थानको अध्ययन गरी एक अर्को पालिकासँग समन्वय र प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।

उनले भने, “एक पालिका एक उद्योग बनाउने सरकारको लक्ष्य एउटै पालिकामा खर्च गर्दाभन्दा समग्र उद्योग सञ्चालन हुँदा सहज र ठूलो उद्योग स्थापना गर्न सकिन्छ । कोरिडोरभित्रका पालिकासँग समन्वय गरी एक ठाउँमा ठूलै उद्योग सञ्चालन गर्नुपर्छ भने पर्यटन प्रवर्द्धनलाई आयआर्जनसँग जोड्न आवश्यक छ । त्यसैले यहाँका प्राकृतिक सुन्दरतालाई आम्दानीसँग जोड्ने हाम्रो लक्ष्य हो ।” अहिले पालिकाबाट निस्कने फोहरमैला व्यवस्थापन व्यापक समस्या बनेको भन्दै उहाँले अहिले पालिकाअनुसार नै फोहरमैला विसर्जन भइरहेको जानकारी दिएका छन् ।

त्यसैगरी, फोहरमैलाको उचित ढङ्गबाट विसर्जन नभएमा दीर्घकालका निम्ति सुरक्षित र वायुमण्डललाई असर गर्ने भएकाले समयमै यसतर्फ सबै सचेत हुनुपर्नेमा त्रिपाठीले जोड दिएका छन् । उक्त कोरिडोरअन्तर्गतका पालिकामा ठूला टार प्रशस्त छन् भने टार बाँझिने अवस्था बढ्दै गएकाले यी टारको उपयोग हुने गरी कृषि क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा समेत छलफल भइरहेको संयोजक त्रिपाठीले बताएका छन् ।

त्यस्तै, मर्स्याङ्दी नदी कोरिडोर समन्वय समितिमा हाल तनहुँको भानु नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको बेशीसहर, सुन्दरबजार र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका समावेश छन् भने मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गत पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई समावेश गर्नुका साथै यस कोरिडोरमा पर्ने अन्यपालिकासँग पनि आगामी दिनमा समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।

लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा राईनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा सदस्य रहने गरी मर्स्याङ्दी कोरिडोर पर्यटन उपसमिति गठन गरिएको छ ।

कोरिडोरअन्तर्गतका स्थानीय तहबीच तीन/तीन महिनामा संयुक्त बैठक बस्नेछ भने आगामी बैठक फागुन १२ गते बेशीसहर नगरपालिकामा बस्ने निर्णय भएको समितिले जनाएको छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?