१० पुष २०८१, बुधबार

नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सव हुँदै


काठमाडाैं। नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन ९ (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५औँ पोखरा सडक महोत्सव हुन लागेको हो ।

त्यस्तै, रेवान पोखराले आज काठमाडाैंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रबर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पाँच दिन चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायतका कार्यक्रम हुनेछन्”, उनले भने ।

उक्त महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सव पोखराको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्मको करिब तीन किमी क्षेत्रमा हुने जानकारी दिएका छन् । महोत्सवमा पोखरा पर्यटनको विकास प्रवर्धन, अवसर र चुनौतीको विषयमा केन्द्रित टक शो कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

त्यस्तै, सडक महोत्सवमा जाने पर्यटकलाई बसोबासको लागि पोखराका एक हजार दुई सयभन्दा बढी होटलमा ४० हजार श्यया उपलब्ध रहेको रेवान पोखराले जनाएको छ । चारदेखि पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवको अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा ७० लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ । उक्त महोत्सवमा नेपालका वरिष्ठ कलाकार पशुपति शर्मा, प्रीति आले, बद्री पङ्गेनीलगायतका कलाकारले प्रस्तुति रहनेछ भने सो महोत्सवले पर्यटकीय नगरी पोखराको अर्थतन्त्रलाई चलायमान बनाउने बताइएको छ ।

नेपाल पर्यटन वोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटन प्रबर्धनका लागि बोर्डले यस्ता सडक महोत्सवलाई सहयोग गर्दै आएको बताउदै पोखराको सडक महोत्सवले देशव्यापी सन्देश दिने स्पष्ट पारेका छन् । रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवले पोखराको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने बताए ।

यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले मुलुकको समग्र आर्थिक विकासमा समेत टेवा समेत पुग्ने उनले उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?