२५ बैशाख २०८३, शुक्रबार

गुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छ : मन्त्री गुरुङ


काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा सबैले ध्यान केन्द्रित गरेर शिक्षा र रोजगारका लागि नेपाली विद्यार्थी मुलुक बाहिर जाने अवस्थाको अन्त्य गराउन आवश्यक भएकामा जोड दिएका हुन् ।

त्यस्तै, मन्त्री गुरुङले लामो छलफल र सकसपूर्ण अवस्थाबीच विद्यालय शिक्षा विधेयक, २०८० लाई संसदीय समितिसमक्ष लगिएकाले यसलाई सरोकार भएका पक्षसँगको संवाद र छलफलका आधारमा पारित गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय शिक्षामा निजी क्षेत्रको भूमिकालाई अन्देखा गर्न नहुने समेत उल्लेख गरेका छन् ।

‘हुन त कतिपय सामुदायिक विद्यालय पनि राम्रा छन् तर अभिभावकहरू मजदुरी गरेर भए पनि छोराछोरीलाई राम्रा निजी विद्यालय पढाउनुपर्छ भन्ने सोच विकास भएको देखिन्छ’, मन्त्री गुरुङले भने, ‘सबै विद्यालय सञ्चालक र शिक्षकले आफ्नो विद्यालयलाई कसरी राम्रो बनाउने र विद्यार्थीलाई सक्षम बनाउने भन्नेमा ध्यान दिने हो भने नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने भावना जागृत हुनेछ ।’

उक्त प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले कक्षाकोठाको गुणस्तर सुधार, शिक्षा क्षेत्रमा नेतृत्व विकास र नीतिगत परिवर्तनका मुद्दामा सबै पक्षबीच छलफल गर्न सम्मेलनको आयोजना गरिएको जानकारी दिएका छन् भने सो सम्मेलनका संयोजक मेदिनी लामिछानेले कक्षाकोठाको सुधार नेतृत्वबाटै हुनुपर्छ भन्ने मान्यताका साथ १७ वटा सत्रहरूमा सहभागीबीच छलफल हुने जानकारी दिएका छन् ।

सो सम्मेलनमा निजी र सामुदायिक विद्यालयका सञ्चालक, प्राचार्य, प्रिन्सिपल र शिक्षक गरी करिब चार सयको सहभागिता रहेको छ । सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरण तथा काठमाडौं विश्वविद्यालय र बिट्रिश काउन्सिलको सहयोग रहेको छ ।

उक्त सम्मेलनको मुख्य विषय नेतृत्व विकास र शैक्षिक गुणस्तर अभिवृद्धि रहेको प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives