२३ पुष २०८१, मंगलवार

पर्यटक कुरिरहेको बेगनास


गण्डकी । अपराह्नपख डुङ्गा व्यावसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिएका छन् । “यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै ?”, पाण्डेले भने, “मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।” शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए । बेगनास ताल डुङ्गा व्यावसायी समितिमा तीन सय ३१ डुङ्गा व्यावसायी छन् । “भोकभोकै आएर पनि डुङ्गा व्यावसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन”, पाण्डेले भने ।

स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ । “सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ”, डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भने, “हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।” आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उनको भनाइ छ । कँडेलले पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् । “पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको बताए ।

तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताए । उनका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ । अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताए । एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र सुनसान भएको उनको भनाइ छ । भ्यूटावर चढ्दा विद्यार्थीलाई रु २०, अन्यलाई रु ३० र विदशीलाई रु ५० को टिकट लाग्ने भुजेलले जानकारी दिए । टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उनले बताए ।

पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पोखरा सहर छेउमै भएर पनि बेगनास क्षेत्र ओझेलमा परेको र पर्यटन पूर्वाधार र प्रवर्धनका दृष्टिले बेगनास अझै पनि पछाडि परेको बताउदै अहिलेको आर्थिक मन्दी, कमसल सडक तथा पूर्वाधारलगायत कारणले यहाँ पर्यटकीय चहलपहल कम भएको उनको भनाइ रहेको छ । प्रकृतिको वैभव, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनासलाई चिनारी दिएको वडाध्यक्ष कँडेलले जानकारी दिए ।

फेवातालको बाराही र बेगनासमा रहेको बराहबीच साइनो रहेको बेगनास ताल बराह संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष कँडेलले बताए । “बराह क्षेत्रको पुरातात्विक महत्व छ । यो सदियौँ पुरानो धार्मिकस्थल हो”, उनले भने, “यसप्रति अथाह विश्वास र जनआस्था गाँसिएको छ । यहाँ पुजा गरे कुनै दुर्घटना नहुने विश्वास गरिन्छ ।” बेगनास तालको उत्तरपट्टि रहेको बराह मन्दिरमा पूजापाठ गर्नाले स्थानीय जलारी र डुङ्गा व्यवसायीलाई लाभ पुग्ने, कुनै दुर्घटना नहुने विश्वास रहेको कँडेलको भनाइ छ । बराह क्षेत्रको पूर्वाधार विकासमा गत आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र चालु आवमा रु ३० लाख बजेट दिएको वडाध्यक्ष कँडेलले जानकारी दिए । “विसं २०३४/३५ सालअघिसम्म यसको खासै चर्चा नभएको , बेगनास तालबारे धेरैलाई थाहा थियो ।

प्रचारप्रसार पनि भयो तर अझै पनि पर्यटनबाट उल्लेख्य लाभ बेगनासले उठाउन सकेको छैन ।” उनका अनुसार बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको वडाध्यक्ष कँडेलको भनाइ छ ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार