२३ पुष २०८१, मंगलवार

पोखरा लेकसाइडमा भारतीय पर्यटकको चहलपहल बढ्दै


पोखरा । पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ । फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आउनुभएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए । हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उनको भनाइ छ । दोस्रोपल्ट पोखरा आउनुभएका उनले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिए । उनसँगै पोखरा घुम्न आएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा छन् । धर्मकर्ममा विशेष रुचि भएका कारण उनले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताए ।

श्रीमान्का साथमा पहिलो पटक पोखरा आएकी उनले आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाइन् । अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताए । उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ । हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् । गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए । पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउछन् ।

भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने बताउदै होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको समेत बताउए । उनले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताए । उनले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यावसायीलाई केही राहत प्रदान गरेको बताए ।

उनले केही महिनाअघि सिलगुडीमा भएको बङ्गाल ट्राभल मार्ट बिटिएम कार्यक्रम गरेर फर्किएको जानकारी दिँदै भने “धेरै भारतीयले पोखरा घुम्न रुचि देखाउनुभएको छ, तर ‘कनेक्टिभिटी’ र अन्य केही कारणले हैरानी ब्यहोर्नु परेको उनीहरुको गुनासोे रहेको छ, भारतीय पर्यटकको गुनासो राजमार्गको अवस्था नाजुक र विभिन्न ठाउँमा सुरक्षाकर्मीको अनावश्यक जाँच, शौचालयको अभाव र हवाई ‘कनेक्टिभिटी’ बारेमा उनीहरुको गुनासो छ । उनले नेपालसँग भारतीयको भाषा, धर्म, संस्कार, संस्कृति धेरै मिल्ने र कतिपय आफन्त इष्टमित्र नै नेपालमा भएकाले पनि नेपालप्रति उनीहरुको निकै राम्रो भावनात्मक सम्बन्ध देखिएको बताउनुभयो । पर्यटन क्षेत्रमा अर्बौको लगानी गरेका पर्यटन व्यावसायी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

उनले भारतीय पर्यटकका लागि धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले पोखरा रोजाइमा परे पनि सडक पूर्वाधारको नाजुक अवस्था, हवाई असुविधाका कारण उल्लेख्य मात्रमा भारतीय पर्यटक भित्र्याउन नसकिएको बताए । पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो गत अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक हवाई मार्गबाट आएको देखिन्छ । तीमध्ये भारतबाट आउने २६ हजार छ सय ६५ छ । अध्ययनअनुसार गण्डकीमा सात सय पर्यटकस्तरका होटल, पर्यटन क्षेत्रमा रु पाँच खर्ब बढीको लगानी रहेको उनले जानकारी दिए ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार