२५ बैशाख २०८३, शुक्रबार

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती


वालिङ,स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।

सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता प्राप्त गरेसँगै अहिले यहाँका समूह, सहकारी तथा व्यक्तिहरूले पनि व्यावसायिक फूलखेती थालनी गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए । गाउँपालिकाभित्र फूलखेती गर्न इच्छुकलाई उत्पादनमा आधारित रहेर ५० प्रतिशत अनुदान उपलब्ध गराइने उनले जानकारी दिए । गाउँपालिकाले प्राविधिक सहयोग गर्ने तर सुरुआतमा किसानले आफ्नै लगानीमा बीउबिजन, मलखाद, मल्चिङ प्लाष्टिक, डोरीलगायतको व्यवस्थापन गर्नुपर्छ । किसानले फूल उत्पादन गरेपश्चात प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान गाउँपालिकाले उपलब्ध गराउँनेछ । “फूलखेती गर्दा प्रतिरोपनी रु अठार हजार अनुमानित लागत लाग्छ”, उनले भने, “कार्यसम्पादन प्रतिवेदनका आधारमा किसानलाई प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ ।” दसैँतिहारलाई लक्षित गरी अहिले गाउँपालिकाका विभिन्न ठाउँमा ‘कर्मा ५५५’ जातको फूलखेती गरिएको छ । गाउँपालिका आफैँले पनि वडा नं-४ को पुछार भन्ने स्थानमा ड्रागन बगैँचामा मिश्रितरूपमा फूलखेती गरेको छ । पालिकाले झण्डै १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आइरहेको छ । पालिकाले गरेको फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सामूहिकरूपमा फूलखेतीलाई व्यावसायिकतातर्फ अगाडि बढाउने क्रम बढ्दै गइरहेको छ ।

मकै, कोदो तथा विभिन्न जातका गेडागुडी लगाउने बारीमा अहिले फूलखेती देख्न सकिन्छ । कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा सामूहिक चार रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । स्थानीय घनबहादुर थापा मकै, कोदो तथा गेडागुडीबाट भन्दा फूलखेतीबाट आम्दानी राम्रो हुन थालेकाले सामूहिकरूपमा फूलखेती गरेको बताए । “दसैंतिहारलाई लक्षित गरी मैले व्यक्तिगत तथा सामूहिकरूपमा पनि फूलखेती गरेका छौँ”, उनले भने, “गत वर्ष फूल बिक्रीबाट रु डेढ लाखभन्दा बढी आम्दानी भएको थियो, अहिले पनि राम्रो छ ।” उक्त गाउँमा घरबास होमस्टे पनि सञ्चालनमा रहेकाले यहाँ आउने पाहुनालाई स्वागतका लागि पनि फूलको प्रयोग हुने गरेको छ । हालसम्म उत्पादन भएको फूलले राम्रै बजार पाएको कृषि अधिकृत पौडेलले बताए । यहाँ उत्पादन भएको फूल स्थानीय बजारसहित पोखरा, बुटवल, नारायणगढ,काठमाडौं, दाङ, सुर्खेतलगायतका बजारमा खपत हुने गरेको उनले बताए ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives