११ पुष २०८१, बिहीबार

आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने


११ ,भाद्र ,काठमाडौँ । आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरोसर्जरी अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते) सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौँमा हुन लागेको हो ।

यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो । त्यसपछि सन् २०१२ मा दोस्रो पटक गरी नेपालमा हालसम्म यो सम्मेलन दुई पटक भइसकेको छ ।

विगत करिब छ वर्षदेखि र कोरोनाको समयमा यो सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले आठौँ शिखर सम्मेलन नेपालमै आयोजना गर्न लागेको डा श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालमा हाल करिब एक सय १२ जना सक्रिय न्युरोसर्जन रहेका छन् र देशका विभिन्न भागमा सेवारत छन् ।

तीमध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकामै कार्यरत छन् । बाँकी आधा देशका अन्य स्थानमा कार्यरत छन् ।

हाल देशको सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति रहेको हुनाले न्युरोसर्जरीसम्बन्धी सेवा देशभर पुगेको छ ।

सन् १९८८ मा स्व डा उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात् देशमा यो सेवाको सुरुआत भई विस्तार हुँदै गएको हो ।

हाल नेपालमा रहेका न्युरोसर्जन सङ्ख्याको हिसाबले पर्याप्त नभए तापनि सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति हुनु उत्साहजनक कुरा हो ।

नेपालको पूर्वी र तराई क्षेत्रमा न्युरोसर्जनको सङ्ख्या प्रशस्त भए पनि पश्चिम र पहाडी क्षेत्रमा न्युरोसर्जरी सेवा अझै न्यून रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब एक लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जनको आवश्यकता पर्दछ । नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जन रहेको छ जुन त्यति नराम्रो होइन ।

दक्षिण एसियाका अन्य देशमा यो अनुपात नेपालको भन्दा कमजोर देखिन्छ । भारतमा करिब दश लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जन रहेको छ भने बङ्गलादेशमा पनि झन्डै उस्तै अवस्था रहेको छ ।

पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ । त्यहाँ करिब ५० लाख जनसङ्ख्याका लागि एकमात्र न्युरोसर्जन रहेको छ ।

श्रीलङ्कामा करिब आठ लाखका लागि एक न्युरोसर्जन रहेको छ भने मल्दिभ्समा करिब एक लाखको लागि एक न्युरोसर्जन रहेको छ । भुटानमा न्युरोसर्जन र न्युरोसर्जरी सेवाको अझै पनि धेरै कमी देखिन्छ ।

नेपाल न्युरोसर्जन समाजले नेपालमा न्युरोसर्जरी सेवा र न्युरोसर्जरी शिक्षाको विकासका लागि धेरै योगदान पुर्याउँदै आएको छ ।

हाल देशमा बर्सेनि विभिन्न शिक्षण अस्पतालबाट करिब दश जना न्युरोसर्जन उत्पादन हुँदै आएको छ भने देशका सातै प्रदेशमा वर्षैभरि नेपाल न्युरोसर्जन समाजअन्तर्गत न्युरोसर्जरीसम्बन्धी विभिन्न गोष्ठी तथा सम्मेलन हुने गरेको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?