१७ पुष २०८१, बुधबार

कागबेनीको बाढीले करिब एक अर्बको क्षति


१० भदाै, मुस्ताङ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कानुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्याएको छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको थियो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्याएको छ ।

गाउँपालिकाको कृषि शाखाको तथ्याङ्कानुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूल बोट क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए ।

उनकाअनुसार करिब एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ । बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले जानकारी दिए । उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ । कृषि बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए । गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ ।

गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको उनि बताउँछन् । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा करिब एक करोड बढीको क्षति भएको धामीको भनाइ छ । बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए ।

बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए । यसबाट करिब ५० लाख बढीको नोक्सानी भएको उनको भनाइ छ । बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ ।

पचास ५० घरमा रु ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइसवटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको थियो ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?