२५ बैशाख २०८३, शुक्रबार

भदौमै पाक्याे सुन्तला


३ भदाै, स्याङ्जा । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ। पुतलीबजार नगरपालिका– ११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो। उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ।

अर्यालको फार्ममा सुन्तला बगैँचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन्। उनले वार्षिक रु. १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन्।

शान्ति कफी ट्रेड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन्।

सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन्। ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिए।

उन्सु जातका सुन्तलाका दाना ठुल्ठूला र निकै स्वादिला हुने उनले बताए। कृषक अर्यालका अनुसार बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ।

‘कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिएँ,’ उनले भने, ‘सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु।’

अर्यालले ०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए। अर्यालको फार्मका उत्पादित वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन्। उनले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएका छन्।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives