८ पुष २०८१, सोमबार

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि…


१५ श्रावण, कैलाली । टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।

कालीदेवीले केही सोच्नै सकेनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो ।

‘हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ,’ कालीदेवीले भने, ‘घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो । हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाती । बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्‍याए थाहा छैन ।’

हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टीको ढोकाबाट उनको परिवार भाग्न सफल भएको थियो । कालीदेवीका अनुसार हात्ती अगाडीतिरबाट आएको भए भाग्न सकिने थिएन् । ‘हात्ती देखेपछि आँखा देखिन, डरले मुटु काप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ’, उनले भने, ‘यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म भागिएछ । हामी कराउँदै भागेका थियौँ । खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौँ ।’

कालीदेवीका श्रीमान् दानबहादुर सुनार रोजागारीका लागि भारतमा छन् । परिवार कराउँदै दौड्न थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए । राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुश्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।

विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन् । यसरी पटकपटक नोक्सानी पुर्‍याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ ।

गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने हरी स्थानीय सुनारले बताए । ‘अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ’, उनले भने, ‘वर्षौँदेखि यही बसिरहेका हामी कहाँ जानु ? त्रासमा पनि कसरी बस्ने होला ?’

हात्तीले क्षति गरेको स्थानको वडाध्यक्ष दीपक चौधरीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा एउटा घर, धान बालीमा क्षति हुनुका साथै भकारीमा रहेको धान खाएको उनले बताए ।

क्षतिको एकिन विवरण सङ्कलन गरी त्यहीअनुसार राहत उपलब्ध गराइने वडाध्यक्ष चौधरीले जानकारी दिए ।

‘हात्ती तथा जङ्गली जनावरको जोखिम छ, सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौँ,’ उनले भने, ‘जङ्गल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन् । क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्नेछ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?