१० पुष २०८१, बुधबार

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम


१७ असार ,म्याग्दी । म्याग्दीका दुई वटा स्थानीय तहको ‘विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ लागू भएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–६ को जामुनाखर्क र मालिका गाउँपालिका–४ को महभिरमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

केन्द्रका प्रमुख किरण सिग्देलले व्यावसायिक कृषि र पशुपालनमार्फत विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “कृषि र पशुपालनमार्फत विपन्न समुदायको आयआर्जनमा सुधार ल्याउने कार्यक्रमको उद्देश्य हो,” उनले भने “ आर्थिक वर्ष २०७९/८० मा रु बीस/बीस लाख बजेट विनियोजन गरिएको उक्त कार्यक्रमलाई किसान समूहमार्फत कार्यान्वयनमा ल्याइएको छ ।”

जामुनाखर्क र महभिर कृषि तथा आयआर्जन समूहले कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन् । जिल्लास्तरमा सरोकारवालाको बैठकले प्रदेशसभाको दुई वटा निर्वाचन क्षेत्रका एक/एकवटा विपन्न बस्ती छनोट गरेर कार्यक्रम कार्यान्वयनका लागि सिफारिस गरेको थियो । दुई वटा समूहमा ७० घरपरिवार आवद्ध छन् ।

सो कार्यक्रममार्फत किसानलाई ९० प्रतिशत अनुदानमा बाख्रा÷बोका वितरण, मौरीपालन, कुखुरा, खोर निर्माण र भकारो सुधार गर्न सहयोग गरिएको उक्त केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले बताए । कार्यक्रममार्फत बुधबार जामुनाखर्कमा ३६ किसानलाई सय वटा बाख्रा र तीन वटा बोका वितरण गरिएको थियो ।

समूहका अध्यक्ष टेकबहादुर विकले छ जनालाई तरकारी खेती, आठ जनालाई भकारो सुधार र १६ जनालाई बाख्राको खोर निर्माणमा अनुदान दिइएको बताए । “खोर नभएकालाई खोर बनाउन र बढीमा दुई वटा पाठापाठी, खोर भएकालाई तीन वटाका दरले बाख्रा वितरण गरिएको हो,” उनले भने “उन्नत बोयर र जमुनापारी क्रस बोका भने सामूहिक हिसाबले उपलब्ध गराइएको थियो ।”

महभिर किसान समूहमार्फत बाख्रा, मौरी र कुखुरापालन व्यवसाय सञ्चालन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानको मागको आधारमा विभिन्न शीर्षकमा अनुदान दिइएको हो ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?