१३ असार, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खलाडीलाई थप तालिमका लागि भारत पठाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको समन्वयमा तालिममा पठाइएकोे सिन्धुपाल्चोक क्रिकेट सङ्घका अध्यक्ष विजयकुमार धितालले जानकारी दिए ।
सार्थक बागमती प्रदेशका अन्डर–१६ कप्तान भइसकेका तथा राष्ट्रिय टिमको अन्डर–१६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन । पाँचपोखरी थाङपाल–३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन् ।
भारतको बहु प्रतिष्ठित रणजी ट्रफीसमेत खेलिसकेका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा तीन महिनासम्म ट्रेनिङका लागि सार्थक र पासाङलाई आज औपचारिकरूपमा गाउँपालिका अध्यक्ष टासी लामा, वडा अध्यक्षलगायतले शुभकामनासहित बिदाइ गरे । पाँचपोखरीले हरेक वर्ष क्रिकेट प्रतियोगितासमेत आयोजना गर्ने गरेको छ ।
प्रकाशित मिति: १३ असार २०८०, बुधबार