२५ पुष २०८१, बिहीबार

एक सातदेखि मोबाइल सेवा अवरुद्ध


९ असार ,फुङ्लिङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ ।

फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्र्पकविहीन भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सम्पर्कविहीन भएको छ ।

मोबाइल सेवा बन्द हुँदा सूचाना आदान–प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिका–६ का रोशन लिम्बूले बताए । उनले भने, “अहिले बाढीपहिरो गइरहेको छ, आफ्ना आफन्तलाई फोन गरौँ भने नेटवर्क छैन ।”

फक्ताङ्लुङ गाउँपालिकाको कार्यालयमा समेत टावर अवरुद्ध हुँदा सूचना आदन–प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिका दिलनकुमार पताङवाले बताए । उनले भने, “चार दिन भइसक्यो, गाउँपालिकामा सञ्चारविहीन भएको, सूचना आदन–प्रदान हुन नसक्दा गाउँपालिकाको सेवा प्रवाहसमेत सास्ती भएको छ ।”

ताप्लेजुङमा निरन्तर वर्षा क्रम जारी छ । एक सातादेखि घाम लाग्न सकेको छैन । साँझ–बिहान पानी परिहेको छ । बाढीपहिराले कहाँ–कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्नेसमेत सूचना प्राप्त गर्न समस्या भएको पताङवाले बताए । उनले भने, “गाउँपालिकामा हामी सञ्चारविहीन भएर बसेका छौँ, न त फोन आउँछ न जान्छ, सूचनाविहीन बस्नुपरेको छ ।”

फक्ताङलुङ गाउँपालिकामा रहेको बाहेक अरु सबै टावर सञ्चालनमा रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । महतोले भने, “ताप्लेजुङका टावर सबै सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिकाको मुरिङलामा रहेको टावरमा नै समस्या भएको छ ।”

टावरमा के समस्या आएको हो त्यसको अध्ययन गर्न नेपाल दूरसञ्चार कार्यालय इलामबाट प्राविधिक टोली आएर निरीक्षण गरेपछि मात्र टावर मर्मत हुने सूचना अधिकारी महतोले बताए । उनले भने, “हामीले इलाम कार्यालयमा जनाकारी गरिसकेका छौँ । अब कहिले आउँछन् प्राविधिक त्यसपछि सञ्चालन हुन्छ ।”

सञ्चार सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा कठिन भएको गाउँपालिकाले जानएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम साथै बजेट विनियोजनका काम भइरहेको समय समुदायको सल्लाह–सुझाव लिने समयमा गाउँपालिकामा सञ्चारविहीन हुँदा आगामी आवको योजना बनाउन सास्ती भएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार