३ असार, एजेन्सी । साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान इरानको पहिलो भ्रमणका क्रममा शनिबार तेहरान पुगेका छन् । उनले इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गरेका छन् ।
सन् २०१६ मा रियादले सिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएको विरोधमा भएको प्रदर्शनका क्रममा तेहरानस्थित दूतावास र उत्तरपश्चिमी सहर मशादस्थित वाणिज्य दूतावासमा आक्रमण भएपछि सुन्नी मुस्लिम शक्ति साउदी अरबले सिया नेतृत्वको इरानसँग सम्बन्धविच्छेद गरेको थियो ।
तर गत मार्चमा दुई देशबीच सम्बन्ध सुधार्न र आ–आफ्ना दूतावास खोल्न चिनियाँ मध्यस्थतामा सम्झौता भएको थियो ।
इरानी सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीका अनुसार यो भ्रमणका क्रममा तेहरानस्थित साउदी कूटनीतिक नियोग पुनः खोल्न वार्ता हुनेछ ।
प्रकाशित मिति: ३ असार २०८०, आईतवार