६ वैशाख, काठमाडाैँ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
एपीएफको जीतमा अर्मान्ड बेडोमले गोल गरे । उनले खेलको पहिलो हाफमा गरेको एक गोल नै एपीएफका लागि गोल निर्णायक साबित भयो । खेलको ३९औँ मिनेटमा कप्तान नवीन लामाको पासमा अर्मान्डले गोल गरेका हुन् ।
यस जितसँगै एपीएफ १० खेलबाट १४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ । तेस्तै पराजित मछिन्द्रले १३ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा झरेको छ ।
प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार