२८ असार २०८२, शनिबार

बाजुराको स्वामीकार्तिकमा २ सय क्विन्टल प्याज उत्पादन


बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ बाहुनी गाउँका कृषक दिप विक २६ बर्षदेखि प्याज खेती गरी रहेका छन् । वि.स २०५६ मा विभिन्न संस्थाहरुको सहयोगमा विकले सानो जमिनमा आफूलाई मात्रै प्याज लगाउन सुरु गरेका थिए । विस्तारै प्याज उत्पादनमा वृद्धि हुन थालेपछि अहिले उनी सहित ४० जना कृषकहरुले बाहुनीमा व्यवसायीक प्याज खेती गरी रहेका छन् ।

बाहुनीका दिपसँगै कृषकहरुले अहिले खाद्यान्न भन्दा प्याज खेतीलाई नै बढी जोड दिएका छन् । बारीमा गहुँभन्दा प्याज उत्पादन हुने, बजार पाए गहुँभन्दा प्याजबाट आम्दानी हुने भएपछि कृषक समूहबाट प्याज उत्पादनमा लागेका छन् ।
विकले व्यवसायीक रुपमा प्याज खेतीमा लागेपछि उत्पादनमा पनि वृद्धि हुने गरेको र बजार पाएपछि राम्रो आम्दानी हुने गरेको बताए । उनले भने,“ पहिले पहिले विभिन्न अनुदान आउन्थ्यो, तर बजारको समस्या थियो तर अहिले ढुवानी अनुदान नपाउँदा बजारीकरणको ठूलो समस्या छ ।” उनका अनुसार प्याज खेतीबाट अहिले पनि राम्रै आम्दानी भइरहेको छ । अहिलेसम्म घर खर्च चलाउन र छोराछोरी पठनपाठनसम्म पनि प्याज खेतीबाटै भइरहेको छ । उनले मात्रै यस बर्ष ३० क्विन्टल प्याज उत्पादन गरेका छन् । “पहिले केही प्याज खच्चडमा बोकेर बजारसम्म पुगाउनु पर्थ्यौ तर अहिले गाउँमै ट्याक्टर जान्छ, त्यसैमा ढुवानी गर्छौ” विकले भने ।

प्याज खेतीमा ठूलो सम्भावना भएपछि गाउँपालिकाले बाहुनीलाई पकेट क्षेत्र नै घोषणा गरेको थियो । पालिकाले बाहुनीलाई प्याजको पकेट क्षेत्र घोषणा गरेसँगै केही बर्षसम्म कृषि ज्ञान केन्द्रले पनि ढुवानीमा अनुदान दिएपछि सुर्खेत र नेपालगञ्जमा बजारकै मूल्यमा बिक्री गरेको उनले बताए । तर यो बर्ष भने कतैबाट अनुदान नपाएपछि सस्तोमा प्याज बिक्री गर्नुपर्ने बाध्यता रहेको विकले दुखेसो गरे । ढुवानी अनुदानका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्रमा सर्म्पक गरे पनि अनुदानको कार्यक्रम छैन् भनेपछि प्रतिकेजी प्याज ३५ रुपैयाँमा बिक्री गर्न सुरु गरेको उनले बताए । विक सहित सबैका बारीको प्याज अहिले बाहुनी गाउँकै कृषक विरभान विकले खरिद गरेर ढुवानी गरी रहेका छन् । तत्काल बाहिर ढुवानी गर्न बजारीकरण र ढुवानी अनुदान पाउने आशामा त्याँहाका कृषकहरु छन् । गत बर्ष पनि ढुवानी अनुदान पाएपछि बाहुनीको प्याज सुर्खेत र नेपालगञ्जमा पुगेको थियो ।

त्यस्तै बाहुनी गाउँकै अर्का कृषक दल विकले पनि प्याज खेती गर्न थालेको ५ बर्ष भयो । यस बर्ष उनले पनि १० क्विन्टल जति प्याज उत्पादन गरेका छन् । केही ढुवानी भइसकेको छ भने केही हुदैँ छ । गत बर्ष कृषिबाट ढुवानी अनुदानमा बाहिर लिएर बजारकै मूल्यमा बिक्री गरेका विक यस बर्ष भने सस्तोमा बिक्री गर्न बाध्य छन् । उनले प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गर्न थालिएको बताए । उनले ढुवानीमा अनुदान पाएपछि यसबाट राम्रो आम्दानी हुने गरेको बताए ।

बाहुनी गाउँकै स्थानीय रमेश विकका अनुसार कृषकहरुले आफूले उत्पादन गरेको प्याज तीन चरणमा बिक्री गर्छन । अहिले प्याजको सिजन जेठ–असार, साउन तथा मंसिर– कार्तिकमा पनि बिक्री गर्छन् । अहिले भन्दा मंसिर– कार्तिक महिनामा प्याज बिक्री गर्न पायो भने राम्रो मूल्यमै जान्छ । र आम्दानी पनि देखिन्छ । कृषकहरु पहिले बिक्री नभएको केही प्याज कुहिने त केही झाडीमा फाल्ने गरेका थिए । तर गत बर्ष प्रदेश सरकारले प्याज भण्डार गृह बनाई दिएपछि पछिसम्म पनि भण्डार गर्ने गरेको उनले बताए । बाहुनीमा ४० जना कृषकले करिब १० हेक्टर क्षेत्रफलमा व्यावसीयक रुपमा प्याज खेती गर्ने गरेका छन् ।

पछिल्लो समय पालिका, कृषि ज्ञान केन्द्रबाट बजारीकरण र ढुवानी अनुदान पाउन थालेपछि प्याज कृषकहरु थप हौसिएका छन् । प्रायः सबैले धान, गहुँ लगाउने जमिनमा प्याज खेतीलाई जोड दिएका छन् । पहिलेपहिले गाउँमा अन्नसँग साटिने प्याज अहिले ठूलठूला बजारसम्म बिक्री गरेर उनीहरुले राम्रै आम्दानी गरी रहेका छन् । पछिल्लो समय भारत, धनगढी हुदैँ बाजुराका बजारमा पुग्ने बिषादीयुक्त प्याजले राम्रो मूल्य सहित बजार पाउछ । तर गाउँको आर्गनिक प्याजले बजार पाउँदैन र बारीमै कुहिन्छ । नागरिकहरुको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले व्यवसायीक सीपसँगै गाउँमा उत्पादन भएको प्याज सहित कृषि वस्तुको बजारीकरण तथा भण्डारमा ध्यान दिनुपर्ने देखिन्छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बाहुनीमा यस बर्ष २ सय क्विन्टल बढी प्याज उत्पादन भएको बताएका छन् । उनले पालिकाको ढुवानी अनुदान र रीरास परियोजनाले बोरा सहयोग गरेपछि आर्गनिक प्याज ढुवानी भइरहेको समेत बताए ।
त्यस्तै कृषि ज्ञान केन्द्र बाजुराका प्रमख जसीराम साहनीले प्याज उत्पादनक कृषकहरुले निवेदन सहित सम्पर्कमा आए केही रकम ढुवानीका लागि अनुदान दिन सकिने बताएका छन् । यसअघि ज्ञान केन्द्रले प्रकाशन गरेको सूचना अनुसार सुचिकृत नभएका कारण यो समस्या भएको बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार