७ पुष २०८१, आईतवार

माओवादीको विद्रोहले उल्टिएको स्वामीकार्तिकको चुनावी नतिजा


बाजुरा: नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा बदला जित हात पारेकी छन् । आइतबार सम्पन्न उपचुनावमा भण्डारीले कांग्रेस उम्मेदवार पुल्ती सरा शाहीलाई पराजित गर्दै उपाध्यक्ष जितेकी हुन् । भण्डारीले १७४० मत ल्याएर जित्दा उनका निकटतम प्रतिद्वन्द्वी शाहीले १४७४ मत पाइन् । अर्थात् २६६ मतान्तरले भण्डारीले जित हात पारिन् । उनको यो जित बाजुरा माओवादीभित्र भएको विद्रोहबाट सम्भव भएको हो । एमालेकी भण्डारीलाई जिताउन माओवादी केन्द्रकी राजुकुमारी विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

राजुकुमारीलाई उम्मेदवारी फिर्ता गराउने कार्यको नेतृत्व भने माओवादी बाजुरा जिल्ला सचिव रमेश विश्वकर्मा साहसीले गरेका थिए । यद्यपि माओवादी जिल्ला संयोजक देवीचन्द्र बुढाले आपत्ति जनाएका थिए । पार्टी केन्द्रको निर्देशन बिपरीत सत्तारुढ पार्टीलाई समर्थन गरेको भन्दै कार्बाहीको चेतावनी सहित संयोजक बुढाले बक्तव्य जारी गरेका थिए ।

जिल्ला संयोजक बुढाकै पक्षमा प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले बक्तव्य जारी गर्दै एकीकृत समाजवादीका उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन दिएका थिए । प्रदेश इन्चार्ज पोखरेल र जिल्ला संयोजक बुढाको समर्थन रहेको एकीकृत समाजवादीका शाहीले ५५३ मत पाइन् ।

तर चुनाव भने केन्द्र, प्रदेश र जिल्ला नेतृत्वको निर्णय बिपरीत विद्रोह गर्ने माओवादीको समर्थन पाएकी एमाले उम्मेदवार भण्डारीले जितिन् । माओवादीको मत पाएर एमालेकी भण्डारीले जितेको पुष्टि गर्न ०७९ को नतिजालाई हेर्न सकिन्छ ।

त्यो चुनावमा पनि एमालेबाट सुलोचना बुढा भण्डारी नै उम्मेदवार थिइन् । तर कांग्रेसकी मैनादेवी जोशीसँग १७३ मतान्तरले पराजित भएकी थिइन् । कांग्रेसकी जोशीले १८१० मत ल्याएर जित्दा भण्डारीले १६३७ मत पाएकी थिइन् । एकीकृत समाजवादीको साथ पाएर उम्मेदवार बनेका माओवादीका सुरेशबहादुर रोकायाले १२१३ मत पाएका थिए ।

अर्थात् कम्युनिष्टहरु छरपस्ट हुँदा कांग्रेसकी जोशीले जितेकी थिइन् । यसपटक पनि कम्युनिष्टहरु एकताबद्ध हुन सकेनन् । तर माओवादी विभाजित भयो, जनमत सहितको पक्षधरले एमालेलाई सहयोग गर्दा सुलोचनाले उपाध्यक्ष जितिन् ।

यो जित निकाल्ने समीकरण बनाउन नेतृत्व गरेका एमाले स्थायी कमिटी सदस्य कर्ण थापा बाजुराबाट राष्ट्रिय राजनीतिमै नयाँ सन्देश दिइएको बताउँछन् । ‘मैले पहिले पनि भनिसकेको छु, यो वाम एकताको आधार हो । माथिबाट भएको वाम एकताले काम गरेन, अब हामी तलबाट आधार तयार पार्छौ’, उनी भन्छन् ।

स्वामीकार्तिक गाउँपालिकाको चुनावको सन्दर्भमा ०८४ सम्मै एकताको सहमति भइसकेको छ । त्यहाँ आगामी चुनावमा माओवादीले उपाध्यक्ष, एक वडाध्यक्ष, एक जना कार्यपालिका सदस्य र चार जना वडा सदस्य पाउनेगरी एमालेसँग सहमति छ । माओवादी जिल्ला सचिव साहसी पनि एमालेसँगको सहकार्य नभत्कने बताउँछन् ।

जबकी सबै पार्टीको केन्द्रीय नीति भने कसैसँग तालमेल नगर्ने भन्ने थियो । विशेषगरी कांग्रेस, एमाले र माओवादीले अलगअलग लड्ने नीति लिएको थियो । तर त्यसबिपरीत स्वामीकार्तिकमा गठबन्धन भयो ।

जुन गठबन्धनले सामाजिक कार्यकर्ताको परिचय बनाएकी सुशोचनालाई राजकीय जिम्मेवारी सुम्पियो । १२ पुस २०५० सालमा स्वामीकार्तिक खापर गाउँपालिका-२ मा जन्मिएकी सुलोचनाले गैरसरकारी संस्थामार्फत् सामाजिक परिचय बनाएकी थिइन् ।

झण्डै एक दशक सामाजिक परिचालिक भएर काम गरेकी उनको पार्टी आवद्धता २०६८ सालबाट भएको थियो । उनी स्वामीकार्तिक खापर गाउँपालिका-२ को वडा सदस्य हुँदै कमिटी उपाध्यक्ष समेत भएकी छिन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?