८ पुष २०८१, सोमबार

हस्तान्तरण नगर्दै जीर्ण बन्यो गुइगाड पुल


बाजुरा– जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलाको पक्की ट्रस ब्रिज निर्माण कम्पनीले हस्तान्तरण नगर्दै जीर्ण बनेको छ । पुल निर्माण कम्पनीले गुणस्तरीय नबनाएकै कारण सडक डिभिजनले नबुझेको हो । २०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी पाँच करोड ९६ लाखमा ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो ।

निर्माणको जिम्मा पाएको कम्पनीले विभिन्न बहाना बनाउँदै सम्झौता अनुरुप काम सम्पन्न गर्न सकेन । सम्झौता अनुरुप काम सम्पन्न नगरेपछि थप ०७१ असार मसान्तसम्म काम सक्ने गरी म्याद थपेको थियो । थप गरिएको समयमा समेत निर्माण सम्पन्न नगरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामका प्रमुख रमेश चौधरीले बताए । सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ ।

पाँच करोड ९६ लाखमा निर्माण गर्ने गरी पुलको सम्झौता भएकोमा पाँच करोड २८ लाख निकासा भइसकेको कार्यालयले जनाएको छ । ताकेता दिँदा ०७५ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको जानकारी पछि पक्की ट्रस ब्रिजको चेकजाँच गर्दा कम्सल सामान र ट्रस ब्रिजमा लगाउनु पर्ने सामग्री स्टिमेट अनुसारको जडान नभएको सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख चौधरीले बताए । ६ वर्षअघि मात्रै निर्माण कार्य सम्पन्न भएको ६० मिटर लम्बाइ पुलले ४५ टन लोड भार धान्नुपर्ने गरी स्टेटमेन्ट बनाएको थियो ।

पुलको लोड टेस्टका लागि सडक डिभिजन कार्यालय साँफेबगर अछाम र पुल महाशाखा काठमाडौंबाट आएको इन्जिनियरको टोलीले पुलमा ३० टन लोडसमेत धान्न नसकेर पुल लच्किएर चर्किएपछि पुल पास भएको छैन । जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएका कारण गाडीलाई आउजाउ गर्न सहजताका लागि हाल एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेर पुल सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामका सूचना अधिकारी आकाश श्रेष्ठले बताए ।

सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले पुलको लोड जाँच गर्दा धेरै लोड धान्न नसकेपछि दुर्घटना नहोस् भन्ने उद्देश्यले एक पटकमा एउटामात्र गाडी आउजाउ गर्न साइनबोर्ड टाँस गरिएको बताएका छन् । पुलको साइटमा एक पटकमा एकमात्र सवारीसाधन आउजाउ गर्न साइनबोर्ड टाँसिएको छ । कुन सवारीसाधन कति क्षमताको भन्ने नै छैन । एउटा मोटरसाइकल मात्र आउजाउ गराउने कि बसमात्र गराउने कि लोड ट्रक गराउने नखुल्दा बढी जोखिम भएको यातायात व्यवसायीले बताएका छन् ।

पुलले स्टिमेट अनुसारको क्षमता अनुरुप लोड भार धान्नुपर्ने सो पुलले लोड धान्न नसेकपछि दुर्घटनाको जोखिम रहेको भन्दै पुल पुन: निर्माण हुनुपर्ने स्थानीयले बताएका छन् । २०६८ साल निर्माण कार्य सुरु गरिएको पुल कम्सल निर्माण सामग्री प्रयोग गरेर लामो समयसम्म निर्माण कार्य पूरा नभए पछि पुलको साइटबाट लेन्टर खुइलिएर सरिया देखिन थालेका छन् । साइटका पिल्लरका भाग गुइगाड खोलाले बगाएर जमिनभन्दा माथि निस्किएका छन् । पिल्लरको सुरक्षाका लागि कसैले पनि ध्यान नदिएको स्थानीय बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गुइगाड पुल जोखिममा रहेको छ । निर्माण कम्पनीले पुल हस्तान्तरण नगरेकोले सडक डिभिजनले काम गर्न नमिल्ने जवाफ आउने गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पुल जोखिम हुँदै गएको छ, निर्माण कम्पनी राजेन्द्र थिगिन जेबीले सडक डिभिजनलाई हस्तान्तरण नगरेको बताए । आफूले निर्माण कम्पनीलाई ट्रस ब्रिज पक्की पुल आवश्यक मर्मत गरेर हस्तान्तरण गर्न धेरै पटक पत्राचार गरेको भए पनि अटेर गरेका कारण मर्मत कार्य अलपत्र परेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?