बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाका धर्म बहादुर बुढा लालाबाला छोडेर प्रदेशको यात्रा तय गरेका छन । उनले श्रीमती र २ ओटा छोराछोरी घरमै छोडेर असारे खेतीपाती गरि रोजगारका लागि भारत जान लागेका हुन । गाउँमा रोजगार पाईदैन छोराछोरीको लालन पालन पढाई खर्च जिविको पार्जनका लागि भारत जान थालेको मार्तडी बसपार्कमा भेटिएका बुढाले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको धेरै भयो आफु जस्ता गरिवहरुको पहुँच नभएका कारण स्थानिय तहले रोजगार दिदैन बाध्य भएर चौकीदारी गर्न भारत जान लागेको बुढाको भनाई रहेको छ । बुढा जस्तै बाजुराका अधिकांस युवाहरुले भारतको बाटो तय गरिसकेका छन भने केही युवाहरु गन्तब्यमा पुगेर काम गर्न थालिसकेका छन । बाजुराका नौ वटै स्थानिय तहका अधिकांश गाउँबस्ती खाली हुँदै गएका छन् ।
बाजुरामा साउन पहिलो हप्ता धान रोपाइँ सकिएपछि युवा सबै रोजगारीका लागि धमाधम भारत जानथालेपछि यहाँका गाउँबस्ती खाली हुँदै गएका बुढापाकाहरु बताउछन् । गाउँमा अहिले बुढापाका र बालबालिका बाहेक कोही पनि युवाहरु भेटिदैनन् । धान रोपाइँ सकिएपछि बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका ग्रामीण भेगका युवाहरू रोजगारीका लागि भनेर धमाधम भारत पस्न थालेका छन् । रोपाइँपछि बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् । गाउँमा रोजगारी नपाइने भएकाले तन्नेरी देखि ६० वर्ष सम्मका सबै भारतमा मजदुरीका लागि भारत गइरहेका छन् ।
बाजुराका युवाहरु बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गर्दछन । यो सिजनमा भारतका पहाडी क्षेत्रमा बिभिन्न कामहरु पानउने भएकोले रोजगारका लागि भारत जाने गरेको खप्तड छेडेद गाउँपालिका वडा न ३ का स्थानिय कलक रावतले बताए । भारतको सिम्लामा यतिबेला स्याउ टिप्ने सिजन भएको र आम्दानी राम्रो हुने भएपछि भारतको सिम्लामा जान लागेको उनले बताए । उनले भने सिजनमा राम्रो काम पाईएमा १ लाख भन्दा बढि भारु कमाई हुने गरेको बताए । बाजुराका हजारौँ युवाहरु भारतमा गएर गाउँमा परिवार पाल्ने चलन बाजुरामा पहिलादेखि अहिलेसम्म उस्तै छ ।
कामका लागि जसरी पहिला यहाँका स्थानीय भारतमा जाने गर्थे अहिलेका युवा पनि कामका लागि भारत नै जाने गर्दछन् । नेपालमा राणा शासन देखी प्रजातन्त्र लोकतन्त्र र संघिय गणतन्त्र हुदै अहिले ३ तहका सरकार भए पनि युवाहरुले रोजगारको शुन्शिचितता पाउन नसकेको नागरिक अगुवाहरुको भनाइ रहेको छ ।
जिल्लाको हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, बुढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका लगायतका अधिकांश युवा प्रत्येक वर्ष कामको खोजीमा भारत जाने गरेको नागरिक अगुवाले बताउने गरेका छन । “युवाका लागि गाउँमा केही रोजगारी मिल्दैन । यही बसेर केही व्यवसाय गरौँ भने उनीहरू सँग आयस्रोत छैन । असारमा धान खेती गर्न गाउँ आउँछन् त्यसपछि रोपाइँ सकेर फेरि ती सबै युवा धमाधम भारतमै जान्छन् ।” नागरिक अगुवाको भनाइ रहेको छ । यहाँ दसैँ तिहार र असारको केही दिन गाउँ बस्ती युवाले भरिभराउ हुन्छ । त्यसपछि सबै युवा कामको खोजीमा भारतमा जाने गरेकोले अरू महिना सधैँ यसरी नै गाउँ खाली हुने गरेको बताउने गरेका छन ।
सदरमुकाम मार्तडी सहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्का लगायतका ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका कर्मचारीहरुले बताउने गरेका छन । उनले भने महेन्द्रनगर जाने पुरै बस भारत जाने युवाहरुले भरिभराउ हुने गरेको बताए । प्रत्यक दिन सय जना भन्दा बढि युवाहरु भारत जाने भनेर महेन्द्रनगरकै बसमा टिकट लिने गरेको टिकट काउन्टरका कर्मचारीको भनाई रहेको छ ।
उसो त सुदूरपश्चिमेलीहरू अहिले मात्रै होइन, बाह्रैमास कामको खोजीमा भारत जाने गरेका छन् । सुदुरपश्चिमका ७ पहाडी जिल्लाकाका नागरिकहरू स्थानीयस्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर छन् । तर नेपाल सरकारका आधिकारीक निकायसंग कति संख्यामा रोजगारीका लागि भारत जान्छन् भन्ने तथ्याङ्क छैन ।
प्रकाशित मिति: २० श्रावण २०८१, आईतवार