बाजुरा– सञ्चार सुविधा बाजुराका विकट र दुर्गम क्षेत्रका बासिन्दाको पहुँचमा अझै पुग्न सकेको छैन । अझै पनि मोबाइलमा कुरा गर्न र इन्टरनेट चलाउन अग्लो स्थान खोज्दै धाउनुपर्ने उनीहरुको बाध्यता छ ।
विद्यालय आसपासमा नेटवर्क नचल्ने भएपछि शिक्षक र विद्यार्थी विद्यालयको काम र अनलाइनबाट कक्षा लिन यसरी अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । नेटवर्ककै कारण बाजुराका धेरै विद्यार्थीको भविष्य अन्धकारमा धकेली रहेको छ । यहि समस्याबाट त्रिवेणी नगरपालिका छतारा २, स्थिति त्रिभुवनेश्वरी माध्यमिक विद्यालयका एक शिक्षक पनि दिक्क भएका छन् ।
उनी शिक्षक पेशासँगै शिक्षक सेवाको तयारी गरिरहेका छन् । उनले आफूले अनलाइनबाट पढाई गर्नुपर्ने भए पनि विद्ययालय र कोठामा इन्टरनेट नचल्ने भएको डाँडामा गएर इनटरनेट चलाउनु परेको बताए । स्थानीय सरकारलाई पटक पटक समस्याबारे जानकारी गराउँदा पनि समस्या सामाधान नभएको उनको गुनासो छ ।
वर्षौंदेखिको नेटवर्क समस्या यथावत् रहेको पीडा बाजुराका दुर्गम गाउँका स्थानीयसँग छ । बाजुराका हिमाली गाउँपालिका, त्रिवेणी नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिकालगायतका क्षेत्रमा हालसम्म टोलिफोन टावरसमेत व्यवस्थापन नहँुदा स्थानीय समस्यामा परेका छन् ।
दिउँसो पनि नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाका स्थानीय अर्जुन बुढाले बताए । महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावर टिप्ने ठाउँ र नेट चल्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको उनको भनाइ छ । उनले भने, ‘आफ्नो घर नजिकैको डाँडामा फोन नेटवर्क चल्ने भएकाले स्थानीयले फोरजी डाँडा नाम राखेका छन् ।’
सडक, केन्द्रीय प्रशारण लाइनको विद्युतको सुविधा नपुगेको दुर्गम क्षेत्रमा नेपाल टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छन् । घण्टौं हिँडेर सम्बन्धित व्यक्तिसँग कुरा गर्नुपर्ने बाध्यता कायमै छ । सुगम स्थानमा दिनहुँजसो आफन्तसँग कुराकानी भइरहने भए पनि ग्रामीण क्षेत्रका मानिस भने आफन्तसँग कुरा गर्न टावर खोज्दै अग्लो स्थानमा जानुपर्ने बाध्यता कायमै छ ।
जिल्लाका अन्य पालिकाका उच्च स्थानका बस्ती र टाढाका गाउँमा नेटवर्क समस्या वर्षौंदेखि यथावत छ । हातहातमा मोबाइल छन् तर टावर नहुँदा समस्या छ । ‘टेलिकमको नेटवर्क त नजिककै गाउँमा पनि टिप्न मुस्किल हुन्छ’ हिमाली गाउँपालिकाका रुपधन बुढथापाले भने ।
जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क टावरको संख्या कम हुनु र विस्तारमा ढिलासुस्तीले यहाँका मानिस प्रविधिको प्रयोगबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ । महँगो खालका मोबाइल सेट गाउँमा पुगेका भए पनि नेटवर्क र टावर नहुँदा आफूहरुले दुःख पाउने गरेको स्थानीयको दुखेसो छ ।
नेटवर्कले मात्रै काम नगर्दा धेरै युवा रोजगारमूलक सूचना प्राप्त गर्नबाट वञ्चित रहेका छन् भने कतिपय किसान राहतका साथै सरकारी अनुदानका सूचना नपाउँदा सेवाबाट वञ्चित हुने गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । दुर्गम गाउँको बसाई त्यसमा पनि प्रविधिको पहुँचमा नपुग्नाले धेरै नागरिक सरकारी सुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुने उनको भनाइ छ । अध्यक्ष मल्लले सबै क्षेत्रका लागि टावरको माग भएको र केही गाउँमा टावर सञ्चालन गर्न नसक्दा त्यहाँका स्थानीय सूचनाको पहुँचबाट टाढा रहेको बताए ।
जिल्लाका कतिपय स्थानीय तहमा इन्टरनेट सेवा पनि भरपर्दाे नहुँदा नगरपालिका र गाउँपालिकाले संस्थागत स्व–मूल्यांकनका सूचकसमेत पूरा गर्न नसेको बताउँछन् । पछिल्लो समय जन्म, मृत्यु बसाई सराईलगायत सामाजिक सुरक्षाका काम अनलाइनमा गर्नुपर्ने हुन्छ, तर धेरै स्थानीय तहमा नेटर्वक नहुँदा समस्या हुने गरेको स्थानीय तहको गुनासो छ ।
कोल्टीमा मोबाइलमा कुरा गर्न घाम लाग्नुपर्छ
जिल्लाको बुढिनन्दा नगरपालिकाको कोल्टी क्षेत्रमा फोनमा कुराकानी गर्न घाम लाग्नुपर्छ । घाम नलाग्दा रुखमा चढ्दा वा अग्लो डाँडामा जाँदा पनि नेटवर्कले काम गर्दैन । घाम लाग्दा मात्रै नेटवर्क आउने र बादल लागेको दिन नेटवर्क नआउने समस्याले यहाँका नागरिकलाई हैरानी हुने गरेको कोल्टीका स्थानीयले बताउने गरेका छन् ।
सूचना तथा सञ्चारको अहिलेको युुगमा पनि बाजुराको कुण्डा क्षेत्रका बासिन्दा टेलिफोन र इन्टरनेट सेवाको पहुँच बाहिर छन् । इन्टरनेटको पहुँच नभएको कुण्डा क्षेत्रको कोल्टीमा पछिल्लो समय टेलिफोन सेवा पनि अनियमित भएको छ । घाम लागेपछि मात्र नेटवर्क आउने र बादल लागेपछि नेटवर्क विच्छेद हुने समस्या भइरहेको छ । कोल्टीमा रहेको टेलिफोन टावरमा विद्युत समस्या रहेको र सोलार, जेनेटरको व्यवस्थापन नहुँदा टेलिफोन नेटवर्क अवरुद्ध भइरहेको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ ।
नेपाल टेलिकम, एन्सेललगायतका सञ्चार कम्पनीले यस क्षेत्रमा छिटोछरितो इन्टरनेट सेवाको पहुँच पुर्याउन ध्यान दिएका छैनन् । कोल्टी क्षेत्रका चार वटा स्थानीय तहलाई टेलिफोन सेवा उपलब्ध गराउने गरि निर्माण गरिएको टावरमा बिजुलीको नियमित व्यवस्थापन हुनुपर्ने स्थानीयको माग छ । टेलिकम जिल्ला शाखा बाजुराका प्रमुख लोकबहादुर खड्काले पावर अपुगका कारण टेलिफोन नेटवर्क आउने जाने भएको बताए ।
प्रकाशित मिति: ३२ असार २०८१, सोमबार