काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राती कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार