८ पुष २०८१, सोमबार

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको पहिलाे सम्बाेधन


माननीय सदस्यहरु
मलाई यस राष्ट्रिय सभाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गर्नुभएकोमा सम्पूर्ण माननीय सदस्यहरुमा सर्वप्रथम हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछु।यो पदमा आइपुग्दासम्म मैले चार दशकभन्दा लामो निरन्तर र सक्रिय राजनीतिक जीवन विताएको छु। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफूले सक्दो संस्थागत तथा व्यक्तिगत भूमिका निर्वाह गरेको छु र यसका लागि देशमा चलेका जनयुद्ध लगायतका विभिन्न समयमा भएका जनआन्दोलन र जनसंघर्षहरुमा सहभागी भएको थिएँ।

मैले आफ्नो राजनीतिक जीवनमा प्राप्त भूमिका निर्वाह गर्दा जनतालाई सधैं केन्द्रमा राख्ने नै मेरो मुख्य सोच र प्रवृत्ति हो। मैले सम्झेसम्म जनतालाई धोका हुने पछुतो मान्ने गरी कुनै काम गरेको छैन। मैले प्राप्त गरेको यो भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु। तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा सीमित थिएन र छैन। हाम्रो सम्बन्ध सधैंभरि विचार केन्द्रित सहकर्मीको रुपमा रहेको छ। मेरो आफ्नो सम्पूर्ण परिवार लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि सम्पूर्ण खालका आन्दोलनहरूमा होमिएको थियो। तर मेरो परिवारले त्यसको लाभ वा भुक्तानी कहिल्यै मागेको छैन र माग्ने पनि छैन।

अध्यक्षको रुपमा नाम मनोनयनको मितिदेखि नै मैले मेरो दलीय आवद्धता र संलग्नता त्याग गरेको छु। राष्ट्रिय सभाको सदस्यको रुपमा मेरो चयन गैरदलीय आधारमा नै भएको हो। तथापि म नेकपा (माओवादी केन्द्र) मा क्रियाशील रहेको थिएँ। मेरो चयन प्रतिस्पर्धात्मक निर्वाचनको माध्यमबाट भएतापनि लोकतान्त्रिक विधिको रुपमा लिइने निर्वाचन प्रकृयामा सहभागी हुनुहुने सम्पूर्ण माननीय सदस्यहरुको प्रतिनिधिको रुपमा रहेको छु र प्रतिनिधिकै रुपमा रहने पनि छु र नेपालका सबै राजनीतिक दल र आम जनताको राष्ट्रिय सभाको अध्यक्ष भएको छु। अबको मेरो राजनीतिक दर्शन र विश्वास समृद्ध नेपाल निर्माणका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा समानुपातिक र समावेशीतालाई संस्थागत गर्नका लागि नै हुनेछ।

माननीय सदस्यहरु
राष्ट्रिय सभालाई परिपक्क र विज्ञको सदन पनि भन्ने गरिन्छ। त्यसैले राष्ट्रिय सभाको अध्यक्षको रुपमा मेरो मुख्य ध्यान यो सम्मानित सदनको भूमिकालाई अभिबृद्धि गर्न तथा यसको गरिमा र मर्यादालाई माथि उठाउने कुरामा केन्द्रित हुनेछ। कानुन निर्माणमा केही अपवाद बाहेक यो सदनको भूमिका कुनै मानेमा पनि कम छैन।बरु केही विषयहरुमा केही मानकहरुका साथ यसले आफ्नो छुट्टै पहिचान स्थापना गरेको छ। त्यसैले पहिचानलाई संस्थागत गर्दै यो सभालाई कानून निर्माण र संसदीय निगरानीमा अझ प्रभावकारी बनाउने तथा जनसरोकारका विषयमा र संघीयताको सवलीकरणमा यो सभालाई केन्द्रित गर्ने विषयमा मेरो भूमिका र प्रयास रहने नै छ।
माननीय सदस्यहरूका अनुभवले खारिएका मूल्य मान्यताहरूलाई विधायिकी प्रक्रियामा समावेश गर्ने अवसर माथिल्लो सदनबाट प्राप्त हुन्छ। अनुभवी, प्रौढ तथा परिपक्व विद्वानहरुलाई राष्ट्रिय गतिविधिमा संलग्न गराउन सकिने हुनाले यसबाट शासकीय व्यवस्थापन अझ बढी फराकिलो, परिपक्व, परिमार्जित र प्रतिनिधिमूलक हुने विश्वास लिएको छु।

विधायिकी कार्य, संघीय संरचनाको संस्थागत, प्रदेश र स्थानीय तहको पक्षपोषण, संघीय सरकारको कार्यको निगरानी तथा संघ, प्रदेश र स्थानीय तहबीच सहजीकरणको भूमिका राष्ट्रिय सभामा रहेको छ। संघीय संसदमा राष्ट्रिय सभा प्रदेश र स्थानीय तहका व्यक्तिबाट निर्वाचित हुने व्यवस्था भएकाले प्रदेश तथा स्थानीय तहका समस्यामा छलफल गर्ने, तिनको समाधान दिने काममा राष्ट्रिय सभाको बढी सक्रियता अपेक्षित छ। प्रदेश र स्थानीय तहको अधिकारको संरक्षण गर्ने साथै तीनै तहहरूबीच समन्वय गर्ने हाम्रो जिम्मेवारीमा माननीय सदस्यहरुको साथ र सहयोगले संघियताका नकारात्मक अफवाहलाई मेटाउन संभव हुनेछ भन्ने कुरामा म विश्वस्त छु।
माननीय सदस्यहरु

सभाको भूमिका र परिपक्क मर्यादित संसदीय अभ्यासका मापदण्डहरुप्रति सदस्यहरुको सहमतिय दृष्टिकोण मेरो कार्यकालमा अझ प्रस्फुटित गराउने मेरो प्रयास रहनेछ।
यदि प्रतिनिधि सभामा कुनै कमी कमजोरी भएमा त्यसलाई सच्याउन सक्ने राष्ट्रिय सभा हुनुपर्छ। संसदमा र विधायन व्यवस्थापन समितिमा सत्तापक्षको वर्चश्व भएपनि विधेयकलाई समृद्ध बनाउन सबै मिलेर काम गरेको यो सभाको विशिष्टता पनि छ। जनप्रतिनिधिले कार्यपालिकालाई मात्र होइन स्वयम् आफू र सर्वोच्च जनप्रतिनिधिमूलक यस संस्थालाई पनि आम नागरिकप्रति उत्तरदायी र जवाफदेही बनाउनु पर्छ। यसमा प्रभावकारी रुपमा भूमिका रहने अपेक्षा राखेको छु।

माननीय सदस्यहरु
विधि निर्माण, नियमावलीमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन, संसदीय निगरानी तथा अनुगमन र मुल्यांकनलाई थप तथ्यपरक, अनुसन्धानमुलक, विश्वासनीय, सहभागितामूलक, एकरुपता र आधिकारीक बनाउन आवश्यक मापदण्ड तयार गरी कार्यान्वयन गर्नेतर्फ प्रयास रहनेछ।

सभा र समितिका कतिपय प्राविधिक काम गम्भीर अध्ययन अनुसन्धान गरी निष्कर्षमा पुग्न विज्ञ र विशेषज्ञको सहयोग आवश्यक पर्द । सांसदहरुलाई आवश्यक सूचना परामर्श उपलव्ध गराउन अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाउने र विज्ञ समूहको व्यवस्था तथा पुस्तकालयको सुदृढिकरण गर्नु आवश्यक छ।

संघीय संसदमा सांसदलाई आवश्यक पर्ने तथ्यांक संकलन गर्ने, विष्लेषण गर्ने र संसदको पहुँचमा पुर्याउने स्वतन्त्र र विश्वासिलो छुट्टै निकाय नभएकोले संघीय संसद सचिवालयमा नीति अनुसन्धान गर्ने, सुचना र तथ्यांक संकलन गर्ने, अध्यावधिक र विष्लेषण गर्ने र माग अनुसार सवै सदस्यलाई सहजरुपमा समयमै उपलव्ध गराउने गरी व्यवस्था मिलाउन पहल हुनेछ।

संसदमा नयाँ प्रवेश गर्ने सांसदहरूलाई संसदको काम कारवाहीसँग परिचित हुन केही समय लाग्न सक्छ। नवनिर्वाचित सदस्यहरुलाई संसदीय प्रक्रिया र कार्यविधिगत विषयमा न्यूनतम जानकारी दिनुपर्दछ। संघीय सांसद, प्रदेश सांसद र कर्मचारीको लागि छुट्टै प्रशिक्षण केन्द्र स्थापना गरी अनुशिक्षण दिने सम्बन्धमा मेरो प्रयास रहनेछ। संघीय संसद र सचिवालयलाई पेपरलेस बनाउदै सभा संचालन एवं सम्पुर्ण क्रियाकलापलाई डिजिटल प्रविधियुक्त बनाउनु पर्ने आवश्यकता छ।

माननीय सदस्यहरु
विगतमा पनि संविधान र संघीयता कार्यान्वयनका लागि यो सदनले विशेष समिति नै बनाएर अध्ययन गरेको, संकल्प प्रस्ताव पारित गरेको र सरकारलाई निर्देशन समेत दिएको कुरा समेत म स्मरण गर्न चाहन्छु। त्यसैगरी दलितका अधिकारका विषयमा, अपाङ्गगता भएका व्यक्तिहरुको अधिकारका विषयमा एवं यौन अपराध विरुद्ध उजुरी दिने हिंसा विरुद्धका विषय मौलिक हक अधिकार कार्यन्वयन लगायतका विभिन्न संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वका प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरुमा यो सभाले खेलेको भूमिका अहं छ। यसका लागि म राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई धन्यवाद र बधाई ज्ञापन पनि गर्दछु।

हाम्रो तीन तहको संघीय संरचनामा यो सभाको मूल रुपमा गठन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुबाट हुन्छ। राष्ट्रिय सभा नै यी तीन तहका सरकारहरुबीच बिधायिकी अन्तरसम्बन्धको थलो हो। तीन तहका सरकारलाई जोड्ने सेतुको रुपमा यसले काम गर्न सक्छ। म यस कुरामा माननीय सदस्यहरु र समितिहरुको विशेष ध्यान आकर्षित गर्न चाहन्छु।

अन्तमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको संघर्षमा जीवन उत्सर्ग गर्ने सहिद र वेपत्ता परिवार एवं घाइते सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। मलाई यो जिम्मेवारी दिने दल र नेताहरु र मलाई अविचलित रुपमा आफ्नो कर्तव्य निर्वाहमा सहयात्रा गर्ने मेरो परिवारप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। राष्ट्रिय सभाको गरिमालाई माथि उठाउन र यसलाई एउटा परिपक्क एवं प्रभावकारी सदनको रुपमा स्थापित गर्ने कुरामा मैले यो सदनको अध्यक्षको रुपमा हरसंभव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै माननीय सदस्यहरुको सहयोग र सद्भावका लागि हार्दिक अपिल समेत गर्दछु।

साथै यस अभियानमा संघीय संसदका महासचिव, सचिवहरु लगायत सिंगो संघीय संसद सचिवालय, नेपाल सरकार, सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा पत्रकार मित्रहरुबाट सहयोगको अपेक्षा गर्दछु।
धन्यवाद ।


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?