९ पुष २०८१, मंगलवार

मानिस त्यसरी पनि आफै झुण्डिएर मर्न सक्छ? पक्कै शालिनलाइ मारेर झुण्ड्याइएको हुनुपर्छ !


-बरिष्ठ अधिवक्ता लव मैनाली

तलको फोटो देखनुभयो ? त्यसरी पनि मानिस आफै झुण्डिएर मर्न सक्छ ? पक्कैपनि मारेर झुण्ड्याइएको हुनुपर्छ । त्यस्ता अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिनै पर्छ । तपाई हामीले सोच्ने र भन्ने गरेको त्यहीनै हैनत ? फेरी अर्काे, मानिस खोला वा पोखरीमा डुबेर मरेको छ । पोस्टमार्टम (अटोप्सी) प्रतिवेदनमा मानिसको पेटमा अलिकती पनि पानी भेटीएन । मृतकको सरिरमा दुई चारवटा खोस्रीएको घाउं चोट पनि थियो । त्यतिभए पुगेनतः सत प्रतिशत मारेर फालेकै हो भनी भन्न । किनकी डुबेर मरेको मानिसको पेटभित्र पानी हुनैपर्छ नत्रभने त्यो डुबेर मरेको हुनै सक्दैन त्यहीनै हामीले आजसम्म बुझेको र जानेको हैनत। त्यस्तै अर्काे उदाहरण, एउटी महिलाले आफुलाई जबरजस्ती करणी भयो भनी उजूरी गरिन । उन्को शरिर जांच गर्दा कन्याजाली जस्ताको त्यस्तै भेटियो । कस्ती फटाई आइमाई रहिछ । ब्यस्र्थैमा अरुलाई दोष लगाउने र फसाउने । यदी उस्ले आरोप लगाएबमोजिम् घटना भएको थियो भने त्यस्तो कसरी देखिन गयोत हाम्रो दिमागले सोच्ने र हामीले प्रायश प्रतीकृया दिने त्यहीनै हैनत ?

यस्ता सयौ दृष्टान्त दिन सकिन्छ । तर, तपाई र मेरो धारणा विपरित विज्ञान र अनुसन्धानको निष्कर्ष भने केही पृथक छ । पानीमा डुबेर मरेको मानिसको पेटमा सदैव पानी नहुन पनि सक्दछ । लगभग १४ प्रतिशत डुबेर मरेको घटनामा पेटमा पानी नहुन सक्ने अध्ययन र अनुसन्धानको निष्कर्ष रहेको छ जस्लाई dry drowning भनिने गरिन्छ (किन भन्ने विषय लामो हुने भएकोले म यहां सिमित रहन चाहन्छु) । पानीमा डुबेर मरेको मृतकको शरिरमा परेको चोटपटक पानीमा डुब्नु अघि भिरबाट लडेर खोलामा खस्दा वा खोलामा खसेपछी बग्ने क्रममा ढुंगा वा त्यस्तै अन्य वस्तुमा ठोकिएर, तसारिएर वा घिसासिएर परेको पनि हुन सक्छ । कतिपय अवस्थामा खोलाको पानीको तेज धारले मृतकको कपडा वगाएर निर्वस्त्र पारेको अवस्था पनि देखिएको छ । त्यस्तोमा विशेषज्ञको रायलाई विश्वास नगरेर हामीले आफ्नो धारणा अनुरुप राय खोज्न थाल्यौ भने त्यसले अवश्यै विकृती वाहेक केहीपनि निमत्याउदैन ।

त्यसैगरी वर्तमान कानूनले महिलाको यौंनिक अंगमा मात्र नभएर गुदद्धार वा मुखमा पुरुष जनेन्द्रिय प्रवेश गराएमा वा महिलाको जनेन्द्रियमा पुरुष जनेन्द्रिया वाहेक अन्य कुनै वस्तु प्रवेश गराएमा पनि त्यो जबरजस्ती करणीको परिभाषा भित्र पर्दछ । त्यस्तो अवस्थामा महिलाको कन्याजाली यथावत हुनु र नहुनुले कुनै तात्विक भिन्नता राख्दैन । कतिपय अवस्थामा पुरुष जनेन्द्रियको आंशिक प्रवेश वा अपवादको रुपमा पुर्ण प्रवेशको अवस्थामा पनि महिलाको कन्याजाली यथावत रहेको हुन सक्छ । अपबादको रुपमा १२ वर्ष सम्म यौनकर्मी रहेकी महिलाको कन्याजाली सावुत रहेको दृष्टान्त पनि पाइन्छ (मोदीको जुरिस्प्रुडेन्स) । त्यसर्थ, कुनैपनि घटनाको वारेमा तपाई र म जस्तो सामान्य मानिसको सोचाई भन्दा सो विषयमा जीवन समर्पण गरेका विशेषज्ञ वा विद्धानले के भन्छन त्यसमानै हामीले भर पर्नु पर्छ र त्यस्ताले के राय दिन्छन सो मानै हामीले विश्वास गर्नुपर्दछ । मलाई यस्तो लाग्यो त्यसैले त्यहीनैे ठिक हो भनी हुल हुज्जत गर्ने वा नारा जुलुस गरेर सत्यलाई दवाउन खोज्ने घटनाक्रमले कसैको पनि भलो गर्र्दैन र त्यो कोही कसैको पनि हितमा हुदैन । प्रत्येक विशेषज्ञलाई शंकाको दृष्टिले हेर्नपनि उचित हुदैन। त्यस्तो कार्यले बिकृती वाहेक अरु केहीपनि निमत्याउदैन यो म विश्वासको साथ भन्न सक्दछु । यो धारणा अनुसन्धानकर्ता, अभियोजनकर्ता र न्यायाधिशज्युहरुको हकमा पनि सान्दर्भिक छ भन्ने मलाई लाग्दछ ।
अव म विषय वस्तुमा प्रवेश गर्न चाहन्छु । तल दिईएका फोटोको प्रशंग मैले किन उपक्याउन चाहेको हो भने त्यो हामीले दैनिक रुपमा भोग्ने गरेको समस्या हो ।

छोरी वा बैनीको आफ्नो घरमा कोही कसैसंग खटपट रहेछ । हिजो मात्र आमा वा दाई भाउजु संग सामान्य ढगले कुरा गरेकी छोरी बैनी वा नन्द आज झुण्डेर मरीरे भनी खवर पाएर जादा खुट्टा वा घुडा टेकेर झुण्डेको देखेपछी तपाई र म जो कोहीले पनि आत्महत्या गरेकी भनी पत्याउनै सक्दैनौ । त्यस्तो अवस्थामा माइती पक्षवाट मारेको भनी जाहेरी पर्नु स्वभाविक हो । तपाई मैले सामान्यतया सोच्ने के हो भने मानिस आत्महत्या गर्दा पुरा तुर्र्लुंग झुण्डिएको हुनुपर्छ । यदी खुट्टा वा शरिरको कुनै अंगले छोएको छ भने त्यो मारेर झुण्डा्याएको हो । त्यस्तै धेरै वर्ष अगाडी मेरा एकजना मित्र न्यायाधिशले झुण्डिएर मरेको एउटा मुद्दामा मारेको प्रमाण केहीपनि नभएतापनि ढाडले ढोकामा अडेस लगाएको आधार र कारणलाई लिएर मैले मृतकको लोग्नेलाई सर्वस्व सहित जन्मकैद गरे भनेर सगर्ब आफ्नो अनुभव सुनाउनु भएको त्यो क्षणले मलाई जीवनपर्यन्त गिज्याईरहन्छ र सदैव कुरी कुरी भनीरहन्छ । तथापी, विज्ञान र अनुसन्धानको निष्कर्ष यो छ की तुर्लुंग झुण्डिएको अवस्थामा कोही कसैले मारेर झुण्डयाईको भन्ने झण वढी सम्भावना हुन्छ भने शरिरको कुनै अंगले छोएको अवस्था (Partial hanging) वा (incomplete hanging) मा समान्यतया आत्महत्या हो भन्ने अनुमान गर्ने गरिन्छ । सरकारी वकिलको हैसियतमा केही समय काम गर्दा मैले आत्महत्याको कुनैपनि वारदात नछोडेको अनुभवको आधार म यो विश्वासको साथ भन्न सक्छुकी कोही कसैले झुण्डिएर आफै आत्महतया गरेको हो वा निजलाई मारेर कसैले झुण्डयाएको भनी थाहा पाउन पहिलो घटनास्थल, दोश्रो लाशको स्थिती र तेश्रो अटोप्सी रिपोर्ट नै प्रयाप्त हुन्छ अरु प्रमाण आवश्यकनै पर्दैन ।

मानिस किन आत्महत्या गर्छन भन्ने सम्वन्धमा मैले केही कलम चलाएको छु । समाजिक संजालमा यो भन्दा अगाडी संक्षिप्त रुपमा केही प्रष्ट पार्ने प्रयत्न पनि गरेको छु । यहां आशिंक झुण्डिएको अवस्थाका् वारेमा जुन भ्रमछ त्यो चिर्ने चेष्टा मात्र गरेका हु । त्यसर्थ म त्यसैमा मात्र सिमित रहन चाहन्छु । मानिसले तुर्लुंग झुण्डिएर, खुट्टा टेकेर, घुडा टेकेर, चाकले अडेस लगाएर वा सुतेको जुनसुकै अवस्थामा पनि झुण्डिएर आत्महत्या गर्न सम्भव छ । कतिपय आत्महत्या खाट, कुर्सी, पलंगमा वा सोफामा डोरी वाधेर गरिएको पनि पाइन्छ । आत्महत्याको सम्वन्धमा यो भन्ने गरिन्छकी लाशले आफ्नो मृत्युको कथा आफैले चित्रण गरिरहेको हुन्छ (Hanging does leave its tell-tale signs on the dead body of the deceased) । मृतकको मृत शरिरवाटनै निज आफै झुण्डिएर मरेको हो वा निजलाई कसैले मारेर झुण्डाइएको हो त्यो त्यसैवाट स्पष्ट हुन जान्छ सो मा विवादनै छैन । आजसम्मको अनुसन्धानवाट प्राप्त तथ्यको आधारमा मानिस झुण्डिएर मर्न लगभग २ के.जी. भन्दा माथिको भार घांटीमा पर्याे त्यो नै प्रयाप्त हुन जान्छ । त्यसर्थ, यदी कुनै पनि ब्यक्ति पूर्णरुपमा झुण्डिएको छैन भने त्यो कोही कसैले मारेको नभै आत्महत्या गरेको हो भनी पहिले अनुमान गर्नुपर्दछ भन्ने विज्ञहरुको राय रहेको छ ।

“… Partial hanging is taken to be diagnostic of being suicidal in nature.”The essentials of Forensic Medicine, and toxicology 14th ed. Dr.k.s.Narayan Reddy, P.264.
“Partial hangings are almost always suicidal in nature.” Principles of Forensic Medicine, Apurba Nandy, 1st.ed.p. 324.

“The amount of pressure on the neck that can bring about severe obstruction of carotid arteries and sudden loss of consciousness is surprisingly low, about 3.5. kg. Unconsciousness followed by death can also result from compression of the venous trunks draining the brain; jugular veins are closed by a tension as low as 2 kg. A ligature tension of 15 kg obstructs the trachea, and 16.6. kg vertebral artery.”Parikh’s Textbook of Medical Jurisprudence and Toxicology 5th ed.p.187.
“…It is not necessary that whole weight of the body should act to cause constriction of the neck to result in death. Experiments conducted by Browardel have shown that a weight even as small as 2 kg could cause death by compression of great veins of the neck.”A short text book of forensic medicine and toxicology, A.Ramachandran, M.R.chandran, p.21.

मेरो विगत देखिको यो अनुभव रहेको छ की यदी कुनै छोरी चेलीको आफ्नो विवाहित घरमा कोही कसैसंग सम्वन्धमा तलमाथि रहेछ र निजले झुण्डेर आत्महत्या गरिन र निजको शरिरको कुनै भागले भुई छोएको रहेछ भने माइतिपक्षवाट मारेर झुण्डाइएको भनी मुद्दा चल्ने निर्विवाद छ । त्यसैगरी अन्य अवस्थामा पनि मृतकको शरिरले भूईमा छोएको अवस्था छ भने मृतकका परिवार पक्षले निजलाई कोही कसैले मारेकै हो भनी शंका गर्ने र उजूरी गर्ने प्राय प्रचलन रहेको पाउदछौ । मृतकलाई मारेर झुण्डयाईएको हो वा आफै झुण्डिएको हो सो विशेषज्ञको रायवाट सहजै छुट्टिन्छ । त्यसर्थ, मेरो यो अनुरोध छ की विशेषज्ञले मृतकको मृत्युको कारणको सम्वन्धमा दिएको रायलाई तपाई हाम्रो अन्तरआत्माको आवाज संग दाजेर नहेरौ । विशेषज्ञले दिएको राय मैले सोचेको जस्तो आएन भनी हुल हुज्जत नगरौ । किनकी विशेषज्ञ भनेका ब्यक्तिगत रुपमा तपाई मेरो कसैको पनि नभएर सत्यका र वास्तविकताका पक्षपातीहरु हुन । त्यस्ता विशेषज्ञले झुण्डेर मरेको सम्वन्धमा, डूबेर मरेको सम्वन्धमा वा जवरजस्ती करणी भए नभएको सम्वन्धमा वा अन्य अवस्थामा दिएको रायलाई सम्मान गर्ने संस्कार बसालौ । अपवाद वाहेक विशेषज्ञ भनेको सत्य र न्यायका हिमायतीहरु हुन । तिनले दिएको रायको आधारमा विशेषज्ञ लाई जथाभावी ब्यवहार गर्ने र अपमान गर्ने नगरौ । विशेषज्ञले दिएको रायलाई अन्यथा वाहेक विश्वास गर्ने बानी बसालौ जो हामी सवैको हितमा छ भन्ने मेरो अनुभव र अनुभूती रहेको छ ।


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?