२८ पुष २०८१, आईतवार

को हुन् त्रि वि हाँक्ने केशरजंग बराल?


काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपतिमा प्रा. डा केशरजंग बराललाई नियुक्त गरेको छ। पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन्।

शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा रहको सिफारिस समितिले बरालसहित तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस गरिएकामध्ये दोस्रो नम्बरमा रहेका बराललाई नियुक्त गरिएको हो।

उनी नेपालको शैक्षिक इतिहासमै पहिलोपट खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त भएका हुन्। प्रधानमन्त्री प्रचण्डले अंकभार तथा मापदण्डका आधारमा उत्कृष्ट तीनमा पर्न सफल उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।

को हुन् बराल?

२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए ।

पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए । उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । र उनले विद्यावारिधिको अध्ययन समयमै सकाए । अर्थात् २०५४ सालमा उनले पढाई सकाए । यसैगरी २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि प्रदान गर्‍यो ।

भारतमा अध्ययन सकेर नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए । उनले पोखरा क्याम्पसमै हुँदै उक्त मौका पाएका थिए । त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे । त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए ।

त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागे । क्याम्पसमा उनी वित्त शास्त्रको विभागीय प्रमुख भएर काम गरे । त्योसँगै उनले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गरे । त्यही बेला उनी व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्य समेत भए । र पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गरे । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फेकल्टी बोर्डका सदस्यमा नियुक्त भए ।

पोखरामा स्थापना हुने चर्चामा रहेको पोखरा विश्वविद्यालयको सुरुवाती समयदेखि नै उनी सक्रिय थिए । पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै उनी व्यवस्थापन विशेष समितिको सदस्य भएर काम गरे । त्यसपछि २०६४ सालमा सरकारले उनलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्‍यो । र उनले चार वर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा बिदा भए । पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पुरा गरेसँगै उनी पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किए । त्यसपछि उनी अमेरिका गए । अमेरिकामा उनी पढाउन गएका थिए । र २०7४ सालमा नेपाल फर्किए र त्रिविमा पढाउन थाले ।

२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर पनि भएर काम गरे ।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार