९ पुष २०८१, मंगलवार

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर


बेनी,म्याग्दी। दिनभर भेडा बाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका-५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ। करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थिए।

त्यस्तै, सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जंगल, बुकी र खर्कमा भेटिन्छन् । उनले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएका छन्। हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्‍याइन्छ।

करिब तीन महिनासम्म मुस्ताङका हिमाली जंगलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उनले बताएका छन्। त्यस्तै, मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ। घुम्ती गोठका भेडा बाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ।

मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ रहेको छ भने मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजंगल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्‍याएको उनले बताएका छन्।

‘वैशाख–जेठसम्म्म अब बेंसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौं, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ,’ उनले भने। घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उनले बताएका छन्।

‘सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनी बताउँछन्। ‘मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुख्र्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशीर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ,’ उनी भन्छन्।

त्यसैगरी, सत्चालीस वर्षका छन्त्यालले भेडापालनबाट वार्षिक २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउँछन्। ‘भेडा बाख्राको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन,’ उनले भने। बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन्।

त्यस्तै, दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने स्थानीयस्तरमा हुने मण्डली, भुमे, सिद्ध, देउराली, मालिकालगायतका देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको छ भने हिमाली बुकीमा समेत पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ। भेडापालन पेसा अधिकांश समय वनजंगलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ। ज्ंगलमा भेडीगोठमा बाघ, भालुादेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्छ। आफूले निरन्तररूपमा अस्थायी टहराका लागि माग गरे पनि सम्बोधन नभएको छन्त्यालले बताए।

उनले हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल पर्ने भएकाले आफूले चरन क्षेत्रमा सामूहिकरूपमा भेडाबाख्रा राख्न मिल्ने अस्थायी टहरा बनाउन माग गरेको बताए। छन्त्यालको भेडीगोठमा अहिले तीनजना हेरालु छन् भने वन्यजन्तुको आक्रमणबाट बचाउन पाँचवटा भोटे प्रजातिका कुकुर समेत रहेका छन् ।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन्। युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ। हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश हिमबहादुरको हिम्मतले देखाएको धवलागिरि गाउँपालिका–५ कल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताएका छन्।

‘त्यस्तै, दुई दशक लामो समय विदेश बसेर पुनः आफ्नै गाउँठाउँमा फर्किएर भेडापालन गरेका हिमबहादुरको हिम्मत सबैका लागि प्रेरणादायी छ, अहिले युवाहरू गोठ बस्न रुचाउने कुरा भएन, गोठलाई व्यवस्थित बनाउन र अनुदानमा सरकारी तवरबाट खासै प्रोत्साहन हुनसकेको छैन, तर हामीले उनलाई आवश्यक सहयोग गर्न सहजीकरण गर्ने पहल थालेका छौँ,’ उनले भने।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?