१० पुष २०८१, बुधबार

स्वास्थ्य संस्थाजन्य फोहोरलाई निर्मलीकरण गरेपछि फेरि बर्गीकरण आवश्यक


काठमाडौँ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले बताउनुभएको छ । स्वास्थ्य संस्थाहरुबाट उत्पादन भएको फोहोर व्यवस्थापनको अनुगमनबाट देखिएको अवस्थाका बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘अहिलेसम्म ६ वटा अस्पतालको अभ्यास हे¥यौँ । सबैमा केही न केही प्रयास भएको छ । कार्य सञ्चालन प्रणाली केही उस्तै र केही फरक भेटिएका छन् । कसैको अलिअलि सुधार गर्नु पर्ने देखिन्छ । कसैको धेरै नै सुधार गर्नु पर्ने देखिएको छ । थालिएका प्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यक छ ।’

यसरी देखिएको विविधतालाई एउटै बनाउन तोकिएको रङ्गका बाल्टिन राखेर स्रोतबाटै फोहोरलाई वर्गीकरण गर्नु पर्ने उहाँले बताउनुभयो । जोखिमयुक्त फोहोरलाई निर्मलीकरण गरिसकेपछि फेरि वर्गीकरण गर्नु पर्छ । यसमा सबैले काम गर्नु पर्ने देखिएको छ । डंगोलको भनाइ छ । आज उहाँको नेतृत्वमा थापाथलीमा रहेको नर्भिक अस्पताल र प्रसुति गृहको अनुगमन गरिएको थियो ।

नर्भिक अस्पतालबाट गएको पुस महिनामा ३ हजार ७४० किलोग्राम हानीकारक फोहोर उत्पादन भएको थियो । जसमध्ये १ हजार ८५२ किलोग्राम डाइपर तथा प्याडजन्य, ३५ किलोग्राम साइटोटोक्सिक (क्यान्सर उपचारका क्रममा उत्पादन भएको फोहोर), ३७६ किलोग्राम प्रयोगशालाजन्य, १६ किलो शारीरिक, १ हजार २१० किलोग्राम पञ्जा, कटन र गज, ८७ किलोग्राम सुई, १७० किलोग्राम फुटेका भाइलहरु र १३७ किलोग्राम सिरिञ्जजन्य फोहोर संकलन भएको थियो । यसप्रकारको फोहोरलाई छुट्टाछुट्टै संकलन र ढुवानी गर्ने र अटोक्लेभमा राखेर निर्मलीकरण गर्ने गरेको देखियो । फोहोर व्यवस्थापनका इञ्चार्ज कृष्ण नेपालीकाअनुसार त्यस महिनामा ३ हजार ५९६ किलोग्राम सामान्य फोहोर उत्पादन भएको थियो । त्यसमा ५९७ किलोग्राम कागज, ६२ किलोग्राम प्लाष्टिक, २४१ किलाग्राम बोतल र क्यान, ३६० किलोग्राम सिसाजन्य र २ हजार ३३६ किलोग्राम कुहिने फोहोर संकलन भएको थियो ।

प्रसुति गृहमा दैनिक ४ सय किलोग्राम फोहोर उत्पादन हुने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये २५९ किलोग्राम निष्कासन गर्ने फोहोरको मात्रा हो । १४६ किलोग्राम पुनःप्रयोग योग्य फोहोर हुन्छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका इञ्चार्ज भवानी खड्काका अनुसार दैनिक ३५ देखि ४० किलोग्रामसम्म सालनाल आउँछ । यसबाट बायोग्याँस उत्पादन गरिएको छ । खड्का अनुसार गएको मंसिर महिनामा ५ हजार ४ सय किलोग्राम फोहोर विक्री योग्य थियो । ७ हजार ९८० किलोग्राम कन्टेनरमा पठाउने संकलन भएको थियो । त्यस महिनामा १ हजार ५० किलोग्राम सालनाल उत्पादन भएको थियो ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?