काठमाडौं । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-४ मराम्ची बस्ने सुकुमान दोर्जेको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । २ बालकले खेल्ने क्रममा लाइटर बाल्दा आगलागी भएको बताइएको छ । आगोले पोलेर घाइते भएका २ बालकलाई मेलम्ची नगर अस्पताल पठाइएकोमा थप उपचारको लागि कीर्तिपुर वर्न अस्पताल रिफर गरिएको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगर बस्ने ५५ वर्षीय दल बहादुर क्षेत्रीको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, १ थान मोटरसाइकल जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका-३१ मिनभवनस्थित सडक डिभिजनको कार्यालय प्रमुखको क्वार्टर र सँगै रहेको बनेपा, धुलिखेल शाखा कक्षमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा विभिन्न सामान जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
रूकुमपूर्व, सिस्ने गाउँपालिका-५ रुकुमकोटस्थित जिल्ला प्रहरी कार्यालय रूकुमपूर्वको मेसमा आइतबार दिउँसो आगलागी हुँदा खाद्यान्न, तरकारी, भाँडावर्तन, ग्याँस सिलिण्डर चुलो, काठ, दराज लगायतका विभिन्न सरसामानहरू जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बझाङ, खप्तडछान्ना गाउँपालिका-६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्का समेत ३ जनाको घरमा आइतबार दिउँसो आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
कास्की, पोखरा महानगरपालिका-१२ औधोगिक क्षेत्रमा रहेको सुजल डेरी प्रालिको पाउडर दुध प्लान्ट मेसिनमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा दूध पाउडर तथा मेसिन समेत जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भोजपुर, अरुण गाउँपालिका-६ जरायोटार पाल्पाले वनमा शनिबार साँझ आगलागी हुँदा उक्त आगो फैलिएर सोही गाउँपालिका-६ आम्बोटे गाँउ बस्ने शिवराज तामाङ र अम्मर बहादुर राईको गोठ र दल बहादुर राईको घर र गोठमा समेत आगलागी हुँदा करिब १४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
इलाम, सुर्योदय नगरपालिका-११ शान्तिगोलाई बस्ने ६५ वर्षीया याङ्जी शेर्पाको भान्सा घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा भाँडावर्तन, अन्नपात जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २९ माघ २०८०, सोमबार