११ पुष २०८१, बिहीबार

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन


पाटन,ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताएका छन् ।

“हरेक वर्षको डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रुपमा मनाउने गरिन्छ । हामीले विगतदेखि नै अपाङ्गता भएका नले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताए । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि सीप विकास र जीवनयापनका लागि शिक्षाको व्यवस्थापन महानगरले गर्ने विश्वास व्यक्त गर्दै उनले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्नका लागि सहजीकरण र समन्वयका माध्यमबाट तीनै तहको सरकारलाई आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रेरित गर्ने बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिको जिल्ला संयोजक भोजराज श्रेष्ठले नेपालमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको ३२ वर्ष भएको स्मरण गर्नुहुँदै सङ्घीय सरकारले भत्ताबाहेक अरु सुविधा नदिएको गुनासो व्यक्त गरे । उनले अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि अरु सेवासुविधा उपलब्ध गराउने गरी आवश्यक नीति तथा योजना बनाएर दैनिक जीवनयापनमा सहज बनाइनुपर्नेमा जोड दिदै अपाङ्गताका सवालमा ललितपुर महानगर धेरै अगाडि बढेको भन्दै भए गरेका कामको प्रशंसासमेत गरे ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नीतिनिर्माण तहदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिको नेतृत्व स्थापित नभएसम्म विकासले सार्थकता नपाउने भन्दै यसका लागि सबैले हातेमालो गरेर लाग्नुपर्ने धारणा राखे । उक्त महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर हरेक हिसाबले अपाङ्गता मैत्री महानगर हुन लागि रहेको बताउँदै अपाङ्गतामैत्री भौतिक संरचना बनाउने महानगरको नीति रहेको र अपाङ्गताका सवालमा केन्द्रित रहेर महानगरले सचेतना अभियान पनि चलाउने धारणा राखेकी छन् । उनले प्रकृतिबाट पछि पारिएका व्यक्तिहरुलाई आदार, सम्मान र माया गर्न सिक्नुपर्ने बताइन्।

विसं २०७८ को जनगणनाअनुसार नेपालमा अपाङ्गता भएकाको जनसङ्ख्या दुई दशमलव आठ प्रतिशत र ललितपुर महानगरपालिकामा एक दशमलव छ प्रतिशत रहेको ललितपुर महानगरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी अधिकृत शोभा खरेलले जानकारी दिइन् । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो ।

त्यस्तै, अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्धन, समावेशीकरण, सशक्तीकरण र अपाङ्गताका विविध सवालमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ बाट मनाउन थालिएको हो । यस वर्ष ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?