२५ पुष २०८१, बिहीबार

आजदेखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?


काठमाडौं । सर्वसाधारणका लागि आज शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला भएको जनाएको हो । उक्त कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् भने सो आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, अंकित मूल्य १०० का दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् भने बिक्री प्रवन्धक कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक कम्पनीले जनाएको छ । उक्त कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो भने कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।

कस्तो छ कम्पनी ?

हाल नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीहरुको तुलनामा यो फरक प्रकृतिको कम्पनी हो । कृषि उत्पादनलाई सहयोग गर्नेगरी कम्पनी सञ्चालनमा आएको हो । त्यस्तै, कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ । माटो परीक्षण, कृषि सम्बन्धी व्यापार केन्द्र सञ्चालन, कृषि सम्बन्धी मेला तथा महोत्सव आयोजना गर्ने लगायतका कार्य गर्ने कम्पनीले जनाएको छ भने वन पैदावररजडिबुटीसम्बन्धी उद्योग सञ्चालन तथा स्थापना गर्ने गराउने लगायतका कार्य गरिने कम्पनीले जनाएको छ । कृषि सम्बन्धी उपकरण, पशुपन्छीको दाना तथा औषधिहरु आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि एजेन्टको रुपमा काम गर्ने, कृषि सम्बन्धी मल, बिउ, विषादी तथा उपकरणको अनलाइन कारोबार गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा छ । उक्त कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरमा जोखिम रहेको संकेत गर्दछ ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ र आब २०७७/७८ मा नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा भने १० करोड नोक्सानीमा गएको थियो भने अपरिस्कृत विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ करोड ७२ लाख नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोष करिब ५ करोड ऋणात्मक छ भने कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको बसुन्धारामा रहेको छ ।मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको यो कम्पनीको सञ्चालक समिति अध्यक्षमा मुक्तिनाथ विकास बैंककै अध्यक्ष भरतराज ढकाल छन् । त्यस्तै अन्य सञ्चालकहरुमा सिताराम काफ्ले, तुलसीराम ढकाल, शिखा मास्के, मोहनकुमार बस्नेत, गोविन्दबहादुर राउत रहेका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार