११ पुष २०८१, बिहीबार

मन्त्रिपरिषद् बैठकका १६ निर्णय: राहत र पुनर्स्थापना प्राथमिकतामा (निर्णयहरु)


काठमाडौं। सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ ।

अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ भने खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी दिँदै उनले भने, ‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए । त्यस्तै २०७२ सालको भूकम्पको बेला काम गर्ने क्रममा भएका कमजोरीहरु सुधार्दै यसपटक काम गर्ने उनको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. संवत २०८० कार्तिक १७ राति ११:४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर) गएको भूकम्पका कारण ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्ने ।
२. उक्त भूकम्पमा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने ।
३. खोज, उद्धार, तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिने । साथै, भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने ।
४. सुर्खेतलाई मुख्य सम्पर्कस्थल र नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाई खोज, उद्धार र राहतसम्बन्धी कार्य एकद्वार प्रणालीबाट व्यवस्थापन मिलाउने ।
५. मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने ।
६. छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने ।
७. भूकम्पपश्चात खोज, उद्धार, राहत र घाइतेको उपचारमा खटिने सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति एवं संघसंस्थालाई विशेष धन्यवाद दिंदै जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी यसलाई निरन्तरता दिन आग्रह गर्ने ।
८. प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेलाई धन्यवाद दिंदै सहयोगका लागि अपिल गर्ने ।
९. भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने ।
१०. क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने ।
११. जीविकाका स्रोत संरक्षण र पशुधन सुरक्षाको व्यवस्था मिलाउने ।
१२. राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नियमाअनुसार दैनिक खाना खाजा खर्च उपलब्ध गराउने ।
१३. सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने । पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने ।
१४. भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने ।
१५. भूकम्पबाट प्रभावित व्यक्तिहरुको सरकारी स्वास्थ्य संस्थाहरुले निःशुल्क उपचारको व्यवस्था गर्ने ।
१६. राष्ट्रिय विपद्को यस घडीमा धैर्यधारण गर्न सबैलाई आग्रह गर्ने ।
१७. सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा वस्ती विकास गर्ने व्यवस्था मिलाउने ।
१८. विपद् प्रभावितहरुका लागि आवश्यक पर्नसक्ने राहत तथा उद्धार सामग्रीहरुको पूर्वतयारी स्वरुप मौज्दात राख्ने ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?