८ पुष २०८१, सोमबार

कात्तिक कृष्णपक्ष लागेसँगै कुमालेको व्यस्तता


महोत्तरी। चन्द्रमासले कात्तिक कृष्णपक्ष लागेसँगै मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कुमाले जाति समुदायको व्यस्तता बढेको छ । यसपक्षको अन्त्यमा पर्ने दीपावली र त्यसलगत्तै सुरु हुने छठपर्वमा माटाका भाँडाको माग बढ्ने आशले कुमाले यो पक्ष लागेसँगै व्यस्त भएका हुन् । दीपावली र छठपर्वमा कलश राखिने भाँडा, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार अहिले यी भाँडा बनाउने काम कुमाले समुदायको प्राथमिकतामा परेको हो । वर्षभरि अन्यबेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिन्छ । पर्व विशेषमा बत्ती बालिने दियो, कलश राखिने अङ्खरा वा करुवा, पर्वका दही जमाइने छ्याँची, पर्वमा चढाइने सामग्री राखिने तौला र गाग्रीसहितका माटाका नयाँ भाँडा प्रयोग गर्ने स्थापित परम्परा छ । यस परम्पराले अहिले प्राचीन मिथिलाक्षेत्रका सबैजसो हटिया (बजार) मा अहिले माटाका भाँडाको बजार जम्दै छ । महोत्तरीको सुदूरउत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्यचोक र हटियामा अहिले २० वटाभन्दा बढी माटोका भाँडा पसल थापिएका छन् । अन्यबेला साप्ताहिक हाट लाग्ने दिनमात्र यी भाँडाका बजार लागे पनि अहिले कात्तिक कृष्णपक्ष सुरु भएसँगै दिनदिनै माटाका भाँडाको बजार जमेको बर्दिबास व्यापार सङ्घका महासचिव उत्तम श्रेष्ठ बताउछन् ।

मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ रहेको छ । दीपावली र छठपर्वमा पूजाआराधनामा प्रयोग गरिने सामग्री माटाकै भाँडामा राखनधरन गरिने परम्पराले माटाका नयाँ भाँडाको कारोबारमा वृद्धि भएको यस्ता भाँडा बनाउने पेसाका कुमालेहरुको भनाइ छ । भाँडा बिक्री भएसँगै आफूहरूको दीपावली र छठपर्वको खर्च जोहो हुने गरेको कुमाल (माटाका भाँडा बनाउने मिथिला क्षेत्रका जातीविशेष) बताउँछन् । पर्वको मुख पारेर महोत्तरीका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी स्टल (पसल) नै राखिएका छन् । महोत्तरीबाहेकका मधेश प्रदेशका अन्य जिल्लाका बजारमा पनि माटाका भाँडा बिक्री हुँदै आएका छन् । विगतमा घर व्यवहार प्रयोजनमा बाक्लै माटाका भाँडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेको छ । यसैले चाडपर्वका लागि मात्र यसको माग हुने गरेको कुमाले बताउँछन् । मिथिलामा दीपावली, छठ, चौरचन र दसैँं माटाका नयाँ भाँडाको माग हुने मुख्य पर्व भए पनि यसको छुट्टै बजारको चहलपहल चाँही दीपावली र छठपर्वको मुखमा हुने गरेको छ ।

मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेपछि आफूहरूको व्यवसाय चाडपर्व विशेषमा खुम्चिएको कुमाले बताउँछन् । अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा काम भ्याइनभ्याइ परेको भङ्गाहा नगरपालिका–५ भूचक्रपुर बस्तीका काशीलाल पण्डित कुमालले बताए । दिवाली र छठपर्वका अवसरमा महोत्तरीका बजारमा ५० लाखभन्दा बढीको माटाका भाँडाको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको अनुमान रहेको छ । कात्तिक कृष्णपक्षसँगै जमेको माटाका भाँडाको बजार छठसम्मै रहने र यस्ता सामानमा केही मूल्यवृद्धिसमेत भएको हुँदा यी पर्वभित्र जिल्लाभरिमा ५० लाखभन्दा बढीको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंह बताउछन् ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?